मछिन्द्रनाथको रथ जावलाखेलतर्फ लगिदैँ

काठमाडौँ, १८ जेठ । रातो मछिन्द्रनाथको जात्राअन्तर्गत रथलाई जावलाखेल लगिदैछ । गत वैशाख २६ गते लगनखेल पुर्‍याइएको रथलाई आज जावलाखेलतर्फ लगिएको हो ।

बिहान साइतको समयमा पानेजुहरुले साङ्केतिक रुपमा हल्लाउने गरेको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए । अपरान्हमा रथलाई तान्ने गरिएको छ ।

ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीका अनुसार जावलाखेलमा पुगेपछि हुने जात्रालाई सात गाउँको जात्रा वा सप्तग्राम जात्रा भनिन्छ । उनले जावलाखेल लैजानका लागि रथ तान्न पहिलेपहिले सात गाउँका मानिस आउनुपर्ने भए पनि अहिले कोही आउने र कोही नआउने बताए ।

उनले भने, “काठमाडौँ वरपरका कीर्तिपुर साँगा, पाँगा, चन्द्रागिरीलगायतका गाउँबाट आउनुपर्ने भए पनि अहिले आउने गरेका छैनन् ।” रथलाई जावलाखेल पु¥याएको चौथो दिनमा भोटो जात्रा हुने गर्छ ।

आज राति नै रथ पुगेमा आगामी शनिबार जात्रा हुने ज्योतिष दैवज्ञ जोशीले बताएका छन् । कुनै कारणले भोलिपल्ट मात्रै पुगेमा भने आइतबार जात्रा हुनेछ । विगतका वर्षमा रथ लगनखेलबाट हिँडाएको दिनमा नै जावलाखेल पुग्ने गरेको उनले बताए ।

जावलाखेलमा जात्रा सकिएसँगै मछिन्द्रनाथको यो वर्षको जात्रा सकिन्छ । त्यसपछि देवतालाई बुङ्मति लैजाने गरिन्छ । देवता वर्षमा झण्डै आधाआधा समय पाटन र बुङमतिमा राख्ने गरिएको छ । गत बिहीबार मङ्गलबजारमा ज्योतिष खलक बसेर साइत हेर्दा जावलाखेलतर्फ लैजानका लागि आजको साइत जुरेको थियो । मङ्गलबजारको सोह्खुट्टे पाटीमा बसेर साइत हेर्ने गरिएको छ ।

स्थानीय तह निर्वाचन भइरहँदा पनि ललितपुर महानगरपालिकामा भने जात्राको रौनक छाएको थियो । वैशाख शुक्ल प्रतिपदाका दिनमा रथारोहण भएपछि जात्राको रौनक अझै बढ्ने गरेको छ । मछिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । यो रथयात्रालाई मछिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ ।

ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएको भए पनि अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका बताए । किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको छ ।

मछिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थानले झन्डै वर्षभर नै ध्यान दिने गर्दछ । यस वर्ष झन्डै रु ५० लाख खर्च हुने उक्त कार्यालयले अनुमान गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board