नेपालमा ५९ हवाई दुर्घटना : ८२८ जनाले गुमाए ज्यान

काठमाडौं । नेपालमा ६७ वर्षमा भएका ५९ हवाई दुर्घटनामा ८२८ जनाले ज्यान गुमाएका छन् ।

सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३४ आन्तरिक र आठ अन्तर्राष्ट्रिय जहाज तथा १७ हेलिकोप्टर दुर्घटना भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक अनुसार ६७ हवाई दुर्घटनामा ८२८ जनाले ज्यान गुमाएका छन् । त्यसबाहेक यात्रु घाइते मात्र हुने गरी थप २५ हवाई दुर्घटना भएका छन् ।

नेपालमा पहिलोपटक ६७ वर्षअघि (३० अगस्ट १९५५) मा कालिङ्गा एयरको जहाज सिमरामा दुर्घटना भएको थियो । जसमा दुई जनाको मृत्यु र एकजना घाइते भएका थिए ।

अहिलेसम्म नेपाली आकाशमा अन्तर्राष्ट्रिय उडानका आठ जहाज दुर्घटनामा परेका छन् । ती दुर्घटनामा तीन सय ७३ यात्रुले ज्यान गुमाएका थिए भने तीन सय ८५ जना घाइते भएका थिए ।

१५ मे १९५६ मा इन्डियन एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना भएको थियो । सो दुर्घटनामा १४ जनाको ज्यान गएको थियो । यस्तै, २४ मार्च १९५८ मा इन्डियन एयरलाइन्सकै जहाज पत्नेभञ्ज्याङमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।

त्यस्तै, ३१ जुलाई १९९२ थाई एयरवेजको जहाज घ्याङफेदीमा दुर्घटना हुँदा एक सय १३ यात्रुको तथा २८ सेप्टेम्बर १९९२ मै पाकिस्तान एयरलाइन्सको जहाज भट्टेडाँडामा ठोक्किँदा एक सय ६७ जनाले ज्यान गुमाएका थिए । ४ मार्च २०१५ मा टर्किस एयरको वाइडबडी जहाज त्रिभुवन विमानस्थलमा ठूलो दुर्घटना हुनबाट बचेको थियो । त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा रनवेभन्दा बाहिर जाँदा दुई सय ३५ यात्रु घाइते भएका थिए । त्यो समय जहाज धावनमार्गमा अड्किँदा तीन दिनसम्म विमानस्थल बन्द गर्नुपरेको थियो ।

क्यानका अनुसार, ५ नोभेम्बर १९६० मा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना हुँदा चार जनाको मृत्यु भयो । त्यसपछि सन् १९८४ सम्म निगमका जहाज ६ पटक निरन्तर दुर्घटनामा परे । १२ जुलाई १९६९ मा निगमको जहाज हेटौँडानजिकै दुर्घटना हुँदा ३५ यात्रुले ज्यान गुमाएका थिए । नेपालमा निगम, नेकोन एयर, एयर काष्ठमण्डप र मकालु एयरका सिंगल इन्जिनका सात जहाज दुर्घटनामा परे, जहाँ २५ यात्रुको मृत्यु भयो भने १८ जना घाइते भए । सिंगल इन्जिन जहाज दुर्गम भेगमा कार्गो र चार्टर्ड उडान गर्दा दुर्घटनामा परेका थिए । पछिल्लो समय १६ मे २०१८ मा मकालु एयरको जहाज सिमिकोटमा दुर्घटनामा परेपछि नेपालमा सिंगल इन्जिन जहाज उडानमा रोक लगाइएको थियो ।

धेरै वायुसेवा लुक्ला, सिमिकोट, जुम्ला, मुस्ताङलगायत दुर्गम गन्तव्यको उडानमा बढी दुर्घटना भइरहेको क्यानका अधिकारी बताउँछन् ।

यो अवधिमा १७ हेलिकोप्टर दुर्घटनामा ८५ यात्रुको मृत्यु भएको छ ।

दुर्घटनाका मुख्य कारण मौसम रहेको पाइएको छ । क्यानका महानिर्देशक प्रदीप अधिकारीले मौसम खराब हुँदा पनि हवाई कम्पनीहरुले उडान गर्दा दुर्घटना हुने गरेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति