नाबालिकालाई बलात्कार प्रयास गरेको आरोपमा युवक पक्राउ

खोटाङ । खोटाङमा विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

विद्यालय जाँदै गरेकी आठ वर्षकी बालिकालाई बलात्कारको प्रयास गरेको आरोप लागेका खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई ११ जेठ बिहान करिब ९:३० बजे बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार भएका प्रधानलाई आइतबार बिहान ४ः३० बजेतिर लुकिछिपी हिँडिरहेको बेला खोटाङ बजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।

प्रधानमाथि एक्लै भएको मौका पारेर नाबलिकालाई समाएर बोकेर घारीमा लगी संवेदनशील अङ्‍ग समाउँदै भुइँमा लडाएर पेन्ट खोली बलात्कार प्रयास गरेको अभियोग छ ।

बलात्कार प्रयासको क्रममा नाबालिका भाग्‍न सफल भएको प्रहरीले जनाएको छ ।

आरोपीविरुद्ध पीडित पक्षले कानुनी कारबाहीको माग गर्दै १३ जेठमा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा किटानी जाहेरी दिएको थियो ।

पक्राउ परेका प्रधानविरुद्ध जिल्ला अदालतबाट बाल यौन दुरुपयोग कसुरमा सोमबार पाँच दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी अनुुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक चौधरीकाअनुसार घटनापछि फरार रहेका प्रधानलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको हो ।

मिलापत्रपछि जाहेरी
बलात्कार प्रयास भएपछि बालिकाले रुदै चिच्याउँदै प्रतिकार गरेकी तर चिच्याउँदा पनि अभियुक्तले मुख थुनेर बलात्कार प्रयास भने गरेको पीडित बालिकाको भनाइ उदृत गर्दै परिवारले जनाएको छ ।

बलात्कार हुनबाट जोगिन सफल बालिका रुदै घर फर्किएर आमालाई भनेपछि घटना सार्वजनिक भएको थियो ।

घटनालगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पीडक र पीडित पक्ष राखेर प्रधानलाई माफ मगाइ मिलापत्र गराइएको थियो । तर, आफन्तको सल्लाहमा पीडित परिवार इलाका प्रहरी कार्यालय खोटाङ बजारमा जाहेरी दिन पुगेको हो ।

अभियुक्तले यसअघि पीडित बालिकाकी दिदीलाई समेत यौन दुर्व्यवहारको प्रयास गरेको आफन्तको दाबी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति