७५१ तहको परिणाम घोषणा, एउटामा मतगणना जारी, अर्कोमा मतदान हुने, एमाले कमजोर

काठमाडौं १४ जेठ । स्थानीय तहको निर्वाचन अन्तर्गत अब दुई वटा स्थानीय तहको मात्रै परिणाम आउन बाँकी रहेको छ।
निर्वाचन आयोगका अनुसार, देशभरका ७५३ मध्ये ७५१ स्थानीय तहको मतगणना सकिएको छ। नयाँ जनप्रतिनिधि आएका छन् भने कार्यपालिका सदस्य छनोट प्रक्रिया चलिरहेको छ।

अब परिणाम आउन बाँकी उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिका रहेका छन्। त्रियुगा नगरपालिकामा मतगणना चलिरहेको छ।

शनिबार बिहानसम्म २३ हजार ९७५ मतगणना भएको छ। जसमा नेपाली कांग्रेसका वसन्तकुमार बस्नेतले आठ हजार दुई सय मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका भागवत राउतले ६ हजार ३७७ मत पाएका छन्। त्यस्तै, नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले ६ हजार ३०२ मत पाएका छन्।

त्यस्तै, उपमेयरमा कांग्रेसकी उम्मेदवार सरिता राई सात हजार ४१० मत सहित अग्रता लिइरहेकी छन्। प्रतिस्पर्धी एमालेकी उम्मेदवार महेश्वरी राईले सात हजार ५४ मत पाएकी छन्।

उपमेयरमा नेकपा माओवादी केन्द्रकी गीता खड्का कार्कीले चार हजार ८२५ मत पाएकी छन्। यो नगरपालिकामा एकीकृत समाजवादी र माओवादीले तालमेल गरेका छन्।

बाजुराको बुढीगंगा नगरपालिकामा भने पुनः मतदान हुने भएको छ। गत वैशाख ३० गते भएको निर्वाचनमा विवाद भएपछि मतगणना हुन सकेको थिएन। निर्वाचन आयोगले छानबिनपछि पुनः मतदान गर्ने निर्णय गरेको छ।

आयोगले स्थानीय सुरक्षा निकाय प्रमुखलाई हटाउन पनि सरकारलाई निर्देशन दिएको छ। अब बाजुराका मुख्य निर्वाचन अधिकृतले निर्वाचनको मिति तोक्नेछन्।

समग्र निर्वाचन परिणामा नेका पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो दल भएका छन् । अघिल्लो चुनावका तुलनामा नेकपा एमाले निकै कमजोर देखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति