गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै संघर्ष

सुदूरपश्चिम । आर्थिक वर्ष २०७९/८० का लागि सरकारले सार्वजनिक गरेको नीति कार्यक्रममा कैलालीको गेटा मेडिकल कलेज सञ्चालनका विषय सम्बोधन नभएको भन्दै विरोध हुन थालेको छ । भवनलगायतका संरचना निर्माणको काम पूरा भइसकेको गेटा मेडिकल कलेज सञ्चालनको विषय नीति कार्यक्रममा नसमेटिएको स्थानीयवासीको भनाइ छ ।

कलेज सञ्चालनको प्रक्रिया यथाशीघ्र सुरु गर्न दबाब दिने उद्देश्यले कैलालीमा संघर्ष समितिसमेत गठन गरिएको छ । समितिको पहलमा आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी र अत्तरियालगायतका क्षेत्रमा हस्ताक्षर संकलन गर्नुका साथै प्रदेशका मुख्यमन्त्री, कैलालीका प्रमुख जिल्ला अधिकारी र धनगढी उपमहानगरपालिकाका प्रमुखलाई छुट्टाछुट्टैरूपमा ज्ञापनपत्रसमेत बुझाइएको छ । कलेजका आवश्यक भौतिक पूर्वाधार तयार भइसके पनि यो कलेजलाई कुन प्र्रारूपमा सञ्चालन गर्ने भन्ने विषयमा सरकारले अहिलेसम्म टुंगो लगाएको छैन ।

नीति कार्यक्रममा कलेज सञ्चालनको विषय नसमेटिएकाले सुदूरपश्चिमवासी निराश भएको नागरिक अगुवाको भनाइ छ । स्थानीय व्यवसायी डिल्लीराज अवस्थीले भने, “नीति कार्यक्रममा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने विषय समेटिनु राम्रो हो, तर भौतिक पूर्वाधार तयार भइसकेको कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनबारे सम्बोधन नहुँदा नागरिकबाट विरोध भएको छ ।” यो मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेज कुन प्रारूपमा सञ्चालन गर्ने भन्नेमा विभिन्न निकाय र तहमा बहस छलफल हुँदै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति