क्यानले एउटै मात्र टी–२० लिग घोषणा

काठमाडाै, ९ जेठ । नेपाल क्रिकेट संघ (क्यान) ले एउटै मात्र टी–२० लिग आयोजना गर्ने घोषणा गरेसँगै फ्रेन्चाईज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपिएल) का टिम मालिकहरुले क्यानको कदमलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

एउटै फ्रेन्चाईज प्रतियोगिता नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने क्यानको निर्णयले यसअघि फ्रेन्चाईज क्रिकेटमा लगानी गरिरहेका कर्पोरेट क्षेत्रका लगानीकर्ताले असन्तुष्टि जनाएका हुन् । उनीहरुले फ्रेन्चाईज क्रिकेटमा ठूलो लगानी गरिसकेको बताउँदै कर्पोरेट क्षेत्रका लगानीकर्ताले प्रतियोगिताको निरन्तरताको माग गरेका हुन् ।

क्यानको निर्णयसँगै मिति घोषणा भइसकेको पाँचौ संस्करणको इपिएलले मान्यता नपाउने देखिएको थियो । यसै सन्दर्भमा सोमवार पत्रकारसम्मेलन मार्फत नेपाल टी–२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिए इपिएल र यसका ६ फ्रेन्चाइज टिमले क्यानले आयोजना गर्ने सबैखाले प्रतियोगिता बहिष्कार गर्ने चेतावनीसमेत दिएका थिए ।

क्यानले गरेको निर्णय सही नभएको ललितपुर प्याट्रिओट्सका मालिक किशोर महर्जनले बताए । उनले क्यान निलम्वित हुँदासमेत ईपीएलले नेपाली क्रिकेटमा सहयोग गरेको भन्दै उनले क्यानको यो निर्णयबाट सम्बन्धित सबै निकायहरु निराश भएको बताए ।

‘क्यानले गरेको घोषणाबाट ईपीएल र यससँग सम्बन्धित सबै सरोकारवालाहरु पूर्ण रुपमा निराश र स्तब्ध छौं । ईपीएलले क्यान निलम्बित हुँदा वा कोभिड १९ का कारण सम्पूर्ण कार्य ठप्प हुँदाको कठिन समयमा पनि क्षमताले सकेसम्म नेपाली क्रिकेटलाई सहयोग गरेको थियाै । यदी क्यानले हालै जारी गरेको निर्णय कार्यान्वायन गर्ने हाम्रो लागि वागमतीमा बग्ने भयो । त्यसबारेमा क्यानको ध्यान जानुपर्छ ।’

क्यानको पछिल्लो कदमबाट यसअघि हुँदै आएको फ्रेन्चाईज क्रिकेट ईपीएलको भविष्य शंकटमा देखिएको छ । जसमा कर्पोरेट क्षेत्रले लगानी गरेको करोडौं रकमसमेत जोखिममा परेको छ । ईपीएलका धेरैजसो टिम मालिकको जमघट भएको पत्रकार सम्मेलनमा कर्पोरेट क्षेत्रको लगानीमा धक्का लाग्ने बताएका हुन् । उनीहरुसँग सहमत हुँदै इपीएलका सञ्चालक आमिर अख्तरले आफूहरुलाई पनि काम गर्ने ठाउँ चाहिएको धारणा राखे ।

‘क्यान आईसीसीको प्रतिवन्धमा भएका बेला हामीले सहजीकरण नगरेर ईपीएल नगरेको भए नेपाली क्रिकेट, खेलाडी कहाँ हुन्थ्यो ? कुनै नयाँ विदेश कम्पनीलाई विश्वास गर्दा, नेपालको क्रिकेट विकासका लागि लागेको कम्पनीलाई किन हेला ? क्यानको यो निर्णयमा हामी निकै स्तब्ध भएका छौं ।’

अख्तरले छलफलबाटै अहिले देखिएको समस्या समाधान हुनेमा आफूहरु आशावादी रहेको बताए । उनले सञ्चालकहरु पीडा र अन्यायमा परेको बताउँदै ईपीएलसँग जोडिएको कम्पनीले क्यानको लिगमा प्रायोजन नगर्ने चेतावनीसमेत दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति