मतदानको मसी नसुक्दै मूल्यवृद्धिको उपहार जनतालाई, कर लगाएर राजश्व उठाएर कमाउन व्यस्त छ सरकारः अनेरास्ववियु अध्यक्ष

काठमाडौं, ९ जेष्ठ । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा उत्रिएको छ ।

अध्यक्ष सुनिता बरालले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले हप्ता दिनमै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २० रुपैयाँ र ग्याँसमा २ सय रुपैयाँ बढाएकोप्रति आपत्ति प्रकट गरे ।

बरालले पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टीतेलको मूल्य १६३ र ग्याँसको मूल्य १ हजार ८ सय कायम गरी सरकारले जनताको ढाड सेक्ने काम गरेको बताए ।

‘सरकारले हिजो राति फेरि पनि स्थानीय तह निर्वाचनको मतदानको मसी नसुक्न नपाउँदै मूल्यवृद्धिको उपहार जनतालाई दिएको छ, मूल्य समायोजन भन्ने बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने, तर घट्दा नघटाई, सरकार विभिन्न कर लगाएर राजश्व उठाएर कमाउन व्यस्त छ,’ बरालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरूमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटक–पटक मूल्यवृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छौं ।’

अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महँगी बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

अध्यक्ष बरालले मूल्यवृद्धिविरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढङ्गले उत्रन आह्वान गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति