मोरङका पालिकाहरूमा एमाले पहिलो, कांग्रेस र माओवादी दोस्रो तथा तेस्रो, जसपा शून्य

काठमाडौं, ९ जेठ । मोरङमा एमालेले सबैभन्दा धेरै पालिकामा जित सुनिश्चित गराएको छ । मोरङका १७ वटा पालिकामध्ये नौवटा पालिकामा एमालेले मेयर र उपमेयर दुवै पद जितेको छ । साथै एउटा पालिकामा मेयर र चारवटा पालिकामा उपमेयर जितेको छ । कांग्रेसले तीनवटा पालिकामा मेयर र उपमेयर दुवै पद जितेको छ ।

चारवटामा मेयर मात्र र एउटामा उपमेयर मात्र जितेको छ । माओवादी केन्द्र एउटा पालिकामा मात्र उपमेयर जित्न सफल भएको छ । जनता समाजवादीले मोरङमा एउटा पनि पालिकामा जित सुनिश्चित गराउन सकेन । एमालेले उर्लाबारी, पथरी–शनिश्चरे, सुन्दरहरैँचा, रंगेली, लेटाङ र सुनबर्सी नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । बेलवारी नगरपालिकामा प्रमुख पद जितेको छ । केराबारी र कानेपोखरी गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । रतुवामाई नगरपालिका र विराटनगर महानगरपालिकामा उपप्रमुख अनि ग्रामथान र कटहरी गाउँपालिकामा उपाध्यक्ष पद जितेको छ ।

कांग्रेसले जहदा, धनपाल र बुढीगंगा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ । विराटनगर महानगरपालिका र रतुवामाई नगरपालिकामा प्रमुख अनि कटहरी, ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष पद जित्न सफल भएको छ । बेलवारी नगरपालिकामा उपप्रमुख पनि कांग्रेसले जितेको छ । माओवादी केन्द्रले मिक्लाजुङ गाउँपालिकामा मात्र उपाध्यक्ष पद जित्न सकेको छ ।

पूर्ण र आंशिक गठबन्धन

मोरङमा विराटनगर महानगरमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीको गठबन्धनबाट प्रमुख र उपप्रमुख उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरेका थिए ।

उपप्रमुखका उम्मेदवार भने विराटनगरमा पराजित भए । पथरी–शनिश्चरे र उर्लाबारी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । यहाँ दुवै पदमा एमालेले जित निकाल्यो । रतुवामाई र सुन्दरहरैँचा नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल थियो । रतुवामाई नगरपालिका प्रमुख कांग्रेसले जित्न सफल भए पनि उपप्रमुखमा माओवादीले हार व्यहार्नुपर्‍यो । सुन्दरहरैँचामा दुवै पद एमालेले जित्यो । तालमेल भएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले जित्यो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति