सचिव कारवाहीका लागि प्रधानमन्त्री कार्यालयमा थन्क्याउने प्रवृत्ति बदल्नुपर्नेः गगन थापा

काठमाडौं, ८ जेठ । कांग्रेसका महामन्त्री गगन थापाले सचिवलाई कारवाही गर्नुपरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा थन्क्याउने प्रवृत्ति बदल्नुपर्ने बताएका छन् ।

आइतबार अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको पुस्तक अतृप्त अवसरको लोकार्पण कार्यक्रममा बोल्दै थापाले भने, ‘अहिले प्रधानमन्त्री कार्यालयमा पुग्नुभयो भने सचिव झोक्राएर बसिरहेको देखिन्छ, प्रधानमन्त्रीको टिम त तगडा हुनुपर्ने होइन र ?’ अन्य मन्त्रालयमा रहेका सचिवलाई दुःख दिनुपरेमा प्रधानमन्त्री कार्यालय सरुवा गर्ने र कामविहीन राख्ने प्रवृत्ति रहेको थापाले बताए ।

टिम राम्रो नहुँदा प्रधानमन्त्री बरालिने र पाएको अवसर खेर जाने सम्भावना रहने उनको भनाइ छ । यस्तो प्रवृत्ति विगतदेखि नै रहेको भन्दै महामन्त्री थापाले कांग्रेसले आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने बताए ।

‘हामीले ५ वर्ष काम गर्ने मौका पायौं भने, २०४८, २०५६ सालमा कांग्रेस र ०७४ सालमा नेकपाको सरकारले गरेका गल्तीबाट सिक्छौं’, उनले भने, ‘त्यो नदोहोर्‍याउने गरी काम गर्छौं ।’

नेपालका राजनीतिक दलसँग सरकारमा कसरी पुग्ने भन्ने मात्र तयारी भएको तर, सरकारमा पुगेपछि के काम गर्ने भन्ने तयारी नभएको भन्दै त्यसमा सुधारको आवश्यकता रहेको थापाले बताए ।

महामन्त्री थापाले वर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई अर्थमन्त्री भन्दा उद्योगमन्त्रीका रुपमा सोचेर बजेट बनाउन सुझाव दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति