म्याग्दीमा एमालेले चार र कांग्रेसले दुई पालिका जिते

म्याग्दी । स्थानीय तह निर्वाचनमा म्याग्दीमा नेकपा (एमाले)ले चार र कांग्रेसले दुई स्थानीय तहको नेतृत्व जितेका छन् ।

यसैगरी माओवादीले एक/एक वटा उपप्रमुख र उपाध्यक्ष, एमालेले तीन र कांग्रेसले एक उपाध्यक्ष जितेका छन् । अघिल्लो चुनावमा छ ओटा प्रमुख, अध्यक्ष र उपाध्यक्ष जितेको कांग्रेसले यसपटक तीन ओटा पालिकाको नेतृत्व गुमाएको छ ।

नेतृत्वमा यसअघि शून्य रहेको माओवादीले यसपटक एक उपप्रमुख र एक उपाध्यक्ष जितेको छ । गत चुनावमा बेनीको उपप्रमुख र केही वडाको सदस्य जितेको राप्रपाले यसपटक कुनै पदमा विजयी हुन सकेन ।

अघिल्लो कार्यकालमा दुई अध्यक्ष र तीन उपाध्यक्ष जितेको एमालेले यसपटक एक नगरप्रमुख र तीन/तीन जना अध्यक्ष उपाध्यक्ष जितेको हो । यसअघि जितेको एमालेले मंगला र कांग्रेसले रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जोगाएका छन् ।

एमालेले गुमाएको धवलागिरि गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का रेशम पुन निर्वाचित भए । यसअघि राप्रपाले जितेको बेनी नगरपालिकाको उपप्रमुखमा यसपटक माओवादी केन्द्रका ज्योति लामिछाने पौडेल विजयी भए ।

यसअघि कांग्रेसले जितेको बेनीको नगरप्रमुखमा एमालेका सुरत केसी, अन्नपूर्णको अध्यक्षमा भारत पुन, उपाध्यक्षमा दिवा तिलिजा, मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा लक्ष्मीदेवी घर्ती पुनः निर्वाचित भए ।

एमालेका शतप्रसाद रोकाले मंगला गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि विजयी हुँदा उपाध्यक्ष पनि सोही पार्टीकी पेमा अधिकारीले जिते ।

कांग्रेसका भवबहादुर भण्डारीले रघुगंगा गाउँपालिकाको अध्यक्षमा दोस्रो पटक विजयी हुँदा कांग्रेसकै प्रेमकुमारी पुन उपाध्यक्षमा निर्वाचित भए ।

वैशाख ३० गते भएको स्थानीय तह चुनावको म्याग्दीको सबै पालिका र वडाको मतगणना आज सकिएको छ । एमालेले २२, कांग्रेसले १७ र माओवादीले छ ओटा वडामा जीत हासिल गरेका छन् ।

अघिल्लो स्थानीय चुनावमा एमालेले २३, कांग्रेसले १५ र माओवादीले सात ओटा वडामा जितेका थिए । जिल्लाभर २३७ पदका लागि ७१८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । कुल ८५ हजार ३७५ जना मतदाता रहेकामा ५६ हजार ५४३ अर्थात ६६.२३ प्रतिशत मत खसेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति