पोखरामा एमालेको नाराबाजीले रोकिएपछि मतगणना पुनः सुरु

पोखरा, ४ जेष्ठ । पोखरा महानगरपालिकाको मतगणनास्थलमा सत्ता गठबन्धनले तोकिएको भन्दा धेरै प्रतिनिधि राखेको भन्दै नेकपा एमालेका प्रतिनिधिले विरोध जनाएपछि मतगणना प्रभावित भएको छ । विवादका कारण केहीबेर मतगणना स्थगित भएको थियो । अहिले पुनः मतगणना सुरु भएको छ ।

सहिदचोकस्थित जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको मतगणनाका क्रममा दलका प्रतिनिधिबीच विवाद भएको थियो । वडा नम्बर ७ को मतगणना भइरहँदा एमाले प्रतिनिधिले नेपाली कांग्रेसले धेरै प्रतिनिधि प्रवेश गराएको आरोप लगाएका थिए । कांग्रेसका प्रतिनिधिले भने गठबन्धनका दलको तर्फबाट गणक प्रतिनिधि खटाएको दाबी गरेका छन् ।

त्यही क्रममा विवाद हुँदा केही बेर मतगणना स्थगित भएको हो । एमाले कार्यकर्ताले मतगणना भइरहेको हल बाहिर नाराबाजी गरेपछि मतगणना कार्य रोकिएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि हाल मतगणना सुरु भइसकेको छ ।

पोखरामा हाल सत्तारुढ गठबन्धनबाट मेयर उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य एमालेका कृष्णबहादुर थापाभन्दा २ हजार भन्दा बढी मतले अगाडि छन् । वडा नम्बर १ र ५ एमालेले जितेको छ भने २, ३, ४, १२, १३, २३, २४ र २६ कांग्रेसले जितेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति