भारतले बढ्दो महँगी र खाद्य सुरक्षाका लागि रोक्यो गहुँ निर्यात

काठमाडौँ, ३१ वैशाख । भारतले गहुँ निर्यातमा रोक लगाएको छ । शुक्रबार साँझ भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा तत्काल लागु हुने गरी गहुँ निर्यात रोक्ने भनिएको छ ।

विश्वको दोस्रो ठूलो गहुँ उत्पादक देश भारतले देशभित्र बढ्दो महँगी र खाद्य सुरक्षालाई ध्यानमा राखेर निर्यातमा रोक लगाएको जनाएको छ ।

भारत सरकारले आफ्नो देशको समग्र खाद्य सुरक्षा व्यवस्थापनको लागि र छिमेकी तथा जोखिमयुक्त देशहरूलाई सहयोग गर्न गहुँ निर्यातलाई ‘प्रतिबन्धात्मक’ कोटामा राखेको सूचनामा उल्लेख छ । ‘भारत, छिमेकी र जोखिमपूर्ण अवस्थामा रहेका विकसोन्मुख देशहरूलाई खाद्य सुरक्षा प्रदान गर्न भारत प्रतिबद्ध छ,’ सूचनामा भनिएको छ, ‘विश्व बजारमा आएको आकस्मिक परिवर्तनले पर्याप्त गहुँ आपूर्तिमा यी क्षेत्रले पहुँच बनाउन सकेका छैनन् ।’

अग्रिम भुक्तानी गरिसकेकाहरूलाई भने भारतले गहुँ ढुवानी गर्ने बताएको छ । रुस–युक्रेन द्वन्द्वका कारण गत फेब्रुअरिदेखि ब्ल्याक सी क्षेत्रबाट हुने ढुवानी घटेपछि विश्वभरका खरिदकर्ताले भारतबाट गहुँ किन्न खोजिरहेको जनाएको छ ।

मे १३ (बैसाख ३०) अघि नै अपरिवर्तनीय लेटर अफ क्रेडिट (आईएलओसी) जारी भएकाको हकमा भारतले निर्यातको व्यवस्थापन गर्ने भनेको हो । साथै, केन्द्रीय सरकारले अनुमति प्रदान गरेमा खाद्य सुरक्षाको आवश्यकता रहेका देशलाई पनि गहुँ निर्यात गर्ने जनाएको छ । महानिर्देशनालयको आँकलन अनुसार भारतले सन् २०२१/२२ मा २।०५ बिलियन अमेरिकी डलर बराबरको ७० लाख टन गहुँ निर्यात गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति