डडेल्धुराबाट देउवा र बालकोटबाट ओलीको रोचक वादप्रतिवाद

काठमाडाै, ३० वैशाख । कम बोल्ने प्रधानमन्त्री शेरबहादुर देउवा र बेलाबखत बोलिराख्ने एमाले अध्यक्ष केपी शर्मा ओलीबीच धेरै वादप्रतिवाद भएको सुनिँदैन । तर, आज चुनावका दिन उनीहरूको रोचक वादप्रतिवाद भयो ।

संयुक्त सत्ता गठबन्धन हाँकिरहेका कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुगेर भोट खसाल्दै सरकारले चुनावसम्बन्धी सबै भ्रम चिरेको दाबी गर्दै थिए । उनको प्रतिस्पर्धी दल एमालेका अध्यक्ष केपी ओलीले भक्तपुरबाट देउवाको टिप्पणीको जवाफ एकै छिनपछि दिएका छन् ।

देउवाले निर्वाचनविरोधी शक्तिहरूलाई समेत सहभागी गराएर ३० वैशाखमै निर्वाचन गराउनु सरकारको सफलता भएको बताएका थिए । उनले त्यसो भनेर एमालेसमेतलाई संकेत गर्न खोजेका थिए ।

उनले व्यंग्य गर्दै भनेका थिए,’चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला ।’

गन्यापधुरास्थित असिग्राममा मतदानका लागि पुगेका प्रधानमन्त्री देउवाले भनेका थिए, ‘अहिले चुनाव भइरहेको छ । निर्वाचनविरोधी शक्तिहरू पनि आएका छन् । स्थानीय तहको समृद्धि र विकासका निम्ति यो निर्वाचन महत्त्वपूर्ण छ ।’

अनि देउवाले थपे, ‘अवाञ्छित क्रियाकलाप र तौरतरिका अपनाएर रोक्न खोजियो, हामीले चुनाव गरायौँ । आज सबैले भोट हालिरहेको देखिरहनुभएको छ ।’

के देउवाले भनेझैं ओलीली चुनाव रोक्न लागि परेका हुन् त रु महेन्द्र शान्ति स्कुलमा भोट हाल्न पुगेका एमाले अध्यक्ष ओलीलाई यही कुरा सोधियो ।

‘तपाइले नचाहे पनि शंकाकै बीचमा चुनाव गर्न सफल भएको भनी देउवाले बोलेको कुरामा तपाईंको टिप्पणी के छु भनी सञ्चारकर्मीले मतदानस्थलमा सोधेको प्रश्नमा ओलीको जवाफ थियो- ‘वैशाख ९ गते उहाँले चुनाव सारौँ भनी प्रस्ताव पठाउनुभएको थियो, मैले देशलाई यस्ता कुरा गरेर अब द्वन्द्वतिर नधकेल्नुहोस् भनेँ, अलोकतान्त्रिक बाटो नहिँड्नुहोस् भनेर अलिक राम्रैसँग खबर पठाएको थिएँ । निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि, कानुनले बाध्यता भएपछि उहाँहरू तयार भएको हो । त्यसैले गफै नगरे हुन्छ ।’

ओलीले अरु थपे, ‘मैले अहिलेसम्म यो कुरा भनेको थिइनँ । यस्ता राजनीतिक संवादका कुरा साधारणतया भनिँदैनन् । तर अब भन्दा फरक पर्दैन जस्तो लाग्यो ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board