मतदान गरेपछि दाहालले भने, ‘जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुँदा लोकतन्त्र सुदृढ हुन सक्दैन’

काठमाडौँ, ३० वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा हुने हारजितलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । उनले जितमा अनावश्यक हौसिने र पराजयमा पूरै निराश हुँदा लोकतन्त्र बलियो बन्न नसक्ने बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा मतदान गरेपछि दाहालले उक्त प्रतिक्रिया दिएका हुन् । उनले मतदातालाई स्वतन्त्रतापूर्वक आत्मविश्वासको साथ निर्वाचनमा सहभागी हुन पनि आह्वान गरेका छन् । ‘यो निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुपर्दछ । संविधान घोषणापछिको दोस्रो निर्वाचन प्रक्रिया हो, सफल हुनुपर्छ । सबैले स्वतन्त्रतापूर्वक मतदान गर्नुपर्छ’ मतदान गरेपछि दाहालले भने, ‘आफू हुर्केको ठाउँमा आएर मतदान गर्दा खुसी लागेको छ । जित्ने र हार्ने निर्वाचन प्रक्रियामा स्वाभाविक हो भनेर मान्नुपर्ने हुन्छ । जितहार हुनकै लागि निर्वाचन हुने हो । जितमा अनावश्यक हौसिने र पराजयमा पूरै निराश हुने कुराबाट लोकतन्त्र सुदृढ हुन सक्दैन ।’

अध्यक्ष दाहालले मुलुक अप्ठ्यारोमा परेको अवस्थामा गठबन्धन भएको बताए । उनले आम नेपाली जनताले गठबन्धनको महत्त्व राजनीतिक स्थायित्व र विकास रूपमा लिनुपर्ने बताए ।

दाहालले आफूले चितवनमा दिएको अभिव्यक्ति तोडमरोड गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । निर्वाचन प्रचारका क्रममा दाहालले चितवनमा मतदातालाई धम्याक्याएको आरोप लागेको थियो । उनले भने, ‘मैले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ भनेको होइन । मेरो भनाइ तोडमरोड गरियो । हँसिया हथौडामा नहाले, रेनुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन । मैले जनतालाई धम्क्याउने र घुर्क्याउने हुनसक्छ ?’

अध्यक्ष दाहालले निर्वाचन आयोगले बिहीबार आफूलाई ८ घण्टे स्पष्टीकरण सोधेकोबारे थाहा नभएको बताए । उनले आफ्नो साथीको मृत्यु भएको हुनाले माडी गएको विषयलाई राजनीतिकरण गरिएको बताए । ‘८ घण्टे स्पष्टीकरणबारे थाहा छैन, सुनेको छैन,’ उनले भने, ‘माणीमा साथीको मृत्यु भएपछि समवेदना दिन जानु थियो । त्यो बेलामा उम्मेदवारसँग भेट भयो एउटा कोठामा, चिया खाएर छुट्टियौं । त्यसलाई राजनीतिकरण गर्ने कुरा भयो, अनिरन्जना भयो ।’

निर्वाचन आयोगले बिहीबार दाहाललाई ८ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board