मौन अवधि उल्लंघन गर्दै सिर्जना र प्रकाशमानले मतदानस्थलमै मागे भोट

काठमाडौं, ३० वैशाख । मौन अवधि उल्लंघन गर्दै काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले मतदान केन्द्रबाटै भोट मागेकी छन् । श्रीमान प्रकाशमान सिंहले पनि उनलाई साथ दिए ।

प्रकाशमानका दम्पती आज बिहान आठ बजे सँगै भोट हाल्न मतदान केन्द्र पुगेका थिए । मत खसाउनुअघि सिर्जनाले क्यामराहरुतिर फर्केर आफूले स्वस्तिक चिन्ह हानिसकेको मतपत्र प्रदर्शन गरिन् । त्यसपछि सञ्चारकर्मीसँग खुलेर प्रतिक्रिया पनि दिइन् ।

सिंहले आफू जितमा ढुक्क रहेको बताइन् । कांग्रेस र गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताउन अपिल गरिन् । सिंहले भनिन्, ‘हामी पुरानो पार्टी नेपाली कांग्रेसबाट उम्मेदवार भएका छौं । कांग्रेसलाई जिताइदिनुस् । कांग्रेसले मात्रै देशमा आर्थिक समृद्धि र उन्नति ल्याउँछ ।’

सिंहले आफू काठमाडौं बनाउन अघि बढेको बताइन् । अहिलेसम्म घर सम्हालेको र अब काठमाडौं सम्हाल्न तयार रहेको उनको भनाइ थियो । सिंहले भनिन्, ‘म काठमाडौंलाई ठूलो घरका रुपमा सम्हाल्नेछु ।’

सिर्जनाका श्रीमान नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि स्थानीय चुनावमा कांग्रेसको जित आवश्यक रहेको बताए । मेयर भनेको राष्ट्रपति र प्रधानमन्त्रीपछिको महत्वपूर्ण पद भएको भन्दै गठबन्धनको जितमा आफू विश्वस्त रहेको बताए ।

कम्युनिष्टहरुको दुईतिहाइ बहुमतको सरकारले पनि काम गर्न नसकेकाले कांग्रेसको जित आवश्यक रहेको उनको भनाइ थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति