काठमाडौँ, २७ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा एक लाख ४५ हजार ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने जनाएको छ।
आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शालिग्राम पौडेलले सो जानकारी दिएका हुन्। ‘३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचन महत्वपूर्ण चरणमा प्रवेश गरेको अवस्था छ’ उनले भने ‘निर्वाचनका लागि अन्तिम तयारी जारी छ।’ उनका अनुसार यसपालिको स्थानीय निर्वाचनमा ६५ राजनीतिक दल सहभागी छन्।
‘स्थानीय निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै तयारी पूरा भएको छ। निर्वाचन अधिकृत र उनीहरुका कार्यालयबाट सबै तयारी भएको छ,’ उनले थपे। पौडेलका अनुसार एक लाख ९ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ जना स्वयमसेवक आवश्यक सामाग्री सहित मतदान केन्द्रमा खटिइसकेका छन्।
स्थानीय तह निर्वाचनमा राजनीतिक दलका ३५५ जना उम्मेदवार निर्विरोध निर्वाचित भइरहेका छन्। त्यसमध्ये ६ जना वडाध्यक्ष सहित ३५ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको पौडेलले बताए। स्थानीय तहमा कूल १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्र रहने उनले उल्लेख गरे।
निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुने आयोगको भनाई छ। प्रवक्ता पौडेलका अनुशार ३५ हजार २२१ पदमा उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। स्थानीय निर्वाचनअघि मंगलबार रातिदेखि मौन अवधि शुरु हुँदैछ। सरकारले अन्र्तराष्ट्रिय सीमा नाका ७२ घण्टाका लागि बन्द गर्दैछ।

प्रतिक्रिया