वीरगञ्ज, २७ वैशाख । सोमबार मध्यराति वीरगञ्ज महानगरपालिकाको नगवास्थित एकजना कांग्रेस नेताको घरमा पुगेका मेयर उम्मेदवार विजय सरावगीलाई स्थानीयले घेरा हालेका छन् । प्रहरीले करिब अढाइ घण्टापछि उद्धार गरेर घरसम्म पुर्याएको छ ।
सरावगी एमाले-लोसपा गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार हुन् । कांग्रेसका क्षेत्रीय प्रतिनिधि विजय चौरसियाको घरमा उनी गएराति ११ बजेतिर पुगेका थिए । भोट किन्न कांग्रेस नेताको घरमा आएको भन्दै स्थानीयले होहल्ला गर्दै घर घेरा हालेका थिए । त्यसपछि चौरसियाको घर छाडेर उनी छिमेकको अर्को घरमा पुगेका थिए । यसबारे साढे १२ बजेतिर खबर पाएको प्रहरीले मंगलबार बिहान ३ बजेतिर मात्रै निवर्तमान मेयर सरावगीलाई उद्धार गरेर घर पुर्याएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले नगवाबाट निवर्तमान नगर प्रमुख सरावगीको उद्धार गरिएको पुष्टि गरे । ‘निवर्तमान नगर प्रमुख सरावगी नगवामा एक जना कांग्रेस नेताको घरमा छिर्नु भएको रहेछ । स्थानीयले घेरेछन् । साढे १२ बजेतिर खबर आयो,’ उनले भने, ‘दुई-अढाइ सय मान्छेले घेरेका थिए । सम्झाई बुझाई गरेपछि भिड घट्यो, करिब अढाइ घण्टापछि उहाँलाई निकाल्यौं ।’
कांग्रेस नेता चौरसियाले राति निवर्तमान मेयर सरावगी आफ्नो घरमा आएको बताए । ‘म त सुतिसकेको थिएँ, छोराले दुई जना मान्छे भेट्न आउनुभएको छ भनेर उठायो । हेर्दा सरावगी र मामाको छोरा कृष्ण चौरसिया रहेछन् । बाहिर हेर्दा सय-डेढ सय मानिस जम्मा भइसकेका रहेछन्, होहल्ला गर्न थालिसकेका रहेछन् । खतरा देखेपछि हामीले जोगाएका हौं,’ उनले भने ।
उनले सरावगीलाई आफूले घरमा नबोलाएको बताए । ‘मैले बोलाएर आउनुभएको हैन, मलाई भेट्न आउनुभएको हो वा ज्यान जोगाउन आउनुभएको हो ? त्यो कुरा उहाँलाई नै सोध्नुपर्छ ।’ हो-हल्ला गर्ने समूहले आफ्नो गेट तोडिदिएको उनले बताए । ‘गाउँका कम मान्छे थिए, छपकैया, मुर्ली, लक्ष्मणवा तिरबाट कहाँ-कहाँका मानिसहरु जम्मा भएका थिए,’ उनले भने ‘कसैले कसैको कुरा नसुन्ने स्थिति थियो ।’ आफू गठबन्धनकै पक्षमा लागेको बताउँदै उनले कोहि घरमा आउँदा हुलदंगा गर्नु गलत भएको बताए ।
राति प्रदर्शन गरेका जसपाका कार्यकर्ताहरुले भने सरावगी मध्यरातमा कांग्रेस नेताको घरमा आउनु शंकास्पद भएको प्रतिक्रिया दिएका छन् । जसपाको महानगर युवा समितिका पूर्व कोषाध्यक्ष भुषाल चौरसियाले सरावगी कांग्रेस नेताको घरमा भोट किन्न छिरेपछि स्थानीयले विरोध गरेको बताए । ‘सरावगी मोटरसाइकलमा हुनुहुन्थो, नगवामा नेपाली कांग्रेसका एक जना नेताको घरमा छिर्नुभयो,’ उनले भने, ‘साथमा ब्याग थियो, त्यसमा पैसा थियो कि के थियो, त्यो त हामीले देखेनौं, पछि जनता आएर त्यो घर घेरे, प्रहरी आएर उहाँलाई लिएर गयो ।’
जसपाको तर्फबाट मेयरका उम्मेदवार राजेशमान सिंहले जनता सचेत भइसकेकाले गलत क्रियाकलापको विरोध गर्नु स्वाभाविक भएको बताए । उनले घटनामा आफ्ना कार्यकर्ता संलग्न भएको भन्नु गलत भएको टिप्पणी गरे ।
‘मेरा कार्यकर्ता थिए कि १६ नम्बर वडावासी थिए ? राति चोर जस्तो भाग्नुपर्ने स्थिति किन आयो ? किन लुकेर बस्नुपर्ने स्थिति आयो ? हामी त घरदैलो गरेर थाकेर सुतेका थियौं,’ उनले भने, ‘जसपाका कार्यकर्ताको संलग्नता छ भन्नु गलत हो, मिथ्या कुरा प्रोपोगण्डा मात्रै हो ।’
तपाईं मेयर पदको उम्मेदवार राति-राति अरुको घरमा जानु आचारसंहिता विपरीत त भो नी ? प्रश्नमा सरावगीले भने, ‘साढे ११ बजे बस्तुस्थिति बुझ्न मात्रै गएको हुँ । निर्वाचनको समयमा जो पनि जान्छ नी । राजेशमान सिंह पनि रातभरी वार्ड-वार्डमा घुमिरहेको हुन्छ त । आखिर ऊ किन घुम्छ त ? म त गएर मज्जाले बसेर कुराकानी गरिरहेको थिएँ । पछि हंगामा गर्न थाले । मैले घर देखेको थिएन । जसले मलाई घर चिनाउन लगेको थियो, उसलाई कुटपिट गर्नुको साथै मोटरसाइकल पनि तोडिदियो भन्ने खबर पाएको छु ।’
प्रतिक्रिया