काठमाडौं, २६ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको स्थानीय तहको चुनाव लोकतन्त्र पक्षधर र लोकतन्त्र विरोधीबीचको लडाइँ भएको बताएका छन् ।‘यो निर्वाचन निर्वाचन मात्रै होइन, एउटा लडाइँ हो,’ सोमबार कञ्चनपुरका दक्षिणी क्षेत्र बेलौरीमा आयोजित चनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘देशलाई फेरि दुर्घटनामा जानबाट जोगाउन, अराजकतातर्फ जानबाट जोगाउन र जनताले पाएका अधिकार सुनिश्चित गर्न गठबन्धनका पक्षमा उभिनुपर्नेछ ।’उनले अहिलेको लडाइँ वाम लोकतान्त्रिक गठबन्धन र प्रतिगामी गठबन्धनका बीचमा भएको बताए । एकातिर पाँच दलीय वाम लोकतान्त्रिक र अर्कोतर्फ एमालेसहित राजावादी र प्रतिगामी तथा सामन्तीका पक्षपोषक दलहरुको गठबन्धन भएकाले जनताहरू लोकतन्त्रका पक्षमा उभिने उनको भनाइ थियो ।एमाले अध्यक्ष केपी ओलीले दुईरदुई पटक संसद् विघटन गरेर संविधान विरोधी, लोकतन्त्र विरोधी र मुलुकलाई फेरि अराजकतातर्फ लैजान खोजेको पनि उनले बताएका थिए । ‘तर प्रतिगामीलाई हामीले फेल गर्यौं, उनीहरु बालुवाटारबाट बालकोट पुगे,’ उनले भने, ‘त्यति मात्रै होइन सातै प्रदेशको सरकारबाट पनि हात धुनुपर्यो ।’दाहालले दक्षिणी क्षेत्रको सीमा समस्यादेखि बेलौरीमा रहेको छोटी भन्सारको स्तरोन्नति र सडक पूर्वाधारसँगै कृषि क्षेत्रका विकासका लागि आफूले पहल गर्ने पनि बताएका थिए ।
स्थानीय तहको चुनाव लोकतान्त्रिक र प्रतिगामी गठबन्धनको लडाइँ हो : अध्यक्ष प्रचण्ड
प्रतिक्रिया