नेताहरुको धम्कीपूर्ण अभिव्यक्ति र सम्भावित त्रास रोक

सम्पादकीय : यतिबेला स्थानीय तहको निर्वाचनको प्रचारप्रसार अन्तिम चरणमा पुगेको छ । गाउँ–शहरमा, टोल–टोलमा मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरुको घरदैलो अभियान चलेकै छ । छिटफुट बाहेक सौहाद्र्धपूर्ण वातावरणमै निर्वाचनको प्रचार–प्रसार भइरहेकै छ । यो लोकतान्त्रिक विधिको सुन्दर पक्ष हो । तर, प्रमुख दलका शीर्ष नेताहरुको धम्कीपूर्ण अभिव्यक्तिले भने भयमुक्त निर्वाचन हुनेमा शंका उब्जिएको छ । त्यसमाथि आइतबारदेखि देशका विभिन्न भागमा झडम र हिंसाका घटना हुन थालेका छन् । यसले निर्वाचनको भयरहित वातावरणलाई विगार्ने त्रास बढाएको छ ।

वैशाख ३० गते अर्थात स्थानीय तहको निर्वाचन हुने दिन नजिकिँदै गर्दा भइरहेका चुनावी सभामा व्यक्त अभिव्यक्तिले आममतदातामा त्रासको वातावरण बन्दै गएको स्पष्ट भएको छ । धम्कीपूर्ण शैलीमा मतदातालाई तर्साउने, थर्काउने, लोभलालच र दवावमा पार्न कोशिस गर्ने र अन्य उम्मेदवारलाई हदैसम्मको निच देखाउन तुच्छता प्रदर्शन गर्ने गरेको पाइएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिप्रति सबैको ध्यान खिचिएको छ । गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा पुनः उम्मेदवार दिएकी प्रचण्ड पुत्री रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले चुनाव नजिते देशै दुर्घटनामा पुग्ने जस्ता अभिव्यक्ति गम्भीर हुन् । यो अभिव्यक्तिले शान्तपूर्ण रुपमा निर्वाचन गर्ने वातावरणमाथि धावा बोलेको छ नै, भरतपुरबासीको स्वतन्त्रतामाथि नै प्रश्न उठाइदिएको छ ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा कांग्रेस नेतृ आरजु देउवाले डडेल्धुरामा ‘कांग्रेसले नजिते बजेट नपठाउने’ भन्ने अर्को धम्कीपूर्ण अभिव्यक्ति हो । आफ्नो व्यक्तिगत पैसा पठाउने जसरी राज्य स्रोतकै मुख्य भान्से जसरी आरजुको अभिव्यक्तिले निर्वाचन नै प्रभावित नपार्ला भन्न सकिन्न । उनको यो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति सर्वत्र भत्र्साना भइरहेको छ । त्यतिमात्र होइन लोकतन्त्र र जहानिया शासनका बीचमा प्रधानमन्त्री पत्नी तथा कांग्रेसकी नेतृ रहेकी विशिष्ट व्यक्तिलाई थाहा नहुनुले हाम्रो देशको पार्टी प्रणालीको दयनीय अवस्थालाई उदांगो पारेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ती भनाइहरुको प्रतिवाद गर्दै चर्को आलोचना गर्ने गरेका छन् । मर्ममै प्रहार हुने गरी ओलीको बोली चुनावी सभामा पोखिने गरेका छन् । विपक्षीको खण्डन गर्ने नाममा ओलीपनि व्यक्तिगत गालीगलौजकै शैलीलाई पछ्याएका छन् । ओलीले वैशाख ३० मा पांचै दललाई कर्याकुरुक्क पार्नु पर्छ, माधव नेपालले विषलाई सिवष पिलाएर पालेछु जस्तो अभिव्यक्तिले आसन्न स्थानीय निर्वाचन झडपमा बदलिने त होइन आशंका बडाएको छ ।

राजनीतिक दलका नेताहरुले राजनीतिक मन्तव्य दिएर जनतालाई आश्वस्त पार्नेभन्दा पनि व्यक्तिगत गालीगलौजमा उत्रिएर जगत हसाउने काम गरिरहेका छन् । देशको आवश्यकता, जनताको पीरमर्का र स्थानीय तहमा गर्नुपर्ने विकास निर्माणको सवाल अहिलेको प्रमुख विषय हो । तर, नेताहरु स्थानीय तहको निर्वाचनको चुनावी सभामा पुग्दै स्थानीय समस्या सम्बोधन गरिरहेका छैनन्, एकअर्काको तेजोबध गरिरहेका छन् । जुन जनअपेक्षित होइन ।

निर्वाचनको बेलामा नेताहरुको यस्तो हर्कतले जनतामा आश, विश्वास र भरोसा होइन, अविश्वासको वातावरण बन्न पुग्दछ । जसका कारण भयमुक्त रुपमा निर्वाचन हुन असम्भव छ । यस्तो अवस्थामा मतदाताले स्वविवेकले मतदान गर्ने वातावरण पनि बन्न सक्दैनन्, जुन लोकतान्त्रिक पद्धतिको खिलापमा छ ।

निर्वाचन शान्त र भय–त्रासमुक्त वातावरणमा हुनुपर्छ भन्ने सर्वमान्य सिद्धान्तमा विश्वास गर्ने र मतदाताले कुनै डर, लोभ वा गलत सूचनाबाट प्रभावित नभई स्वतन्त्ररुपमा आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउनु पर्ने परिस्थितिको सिर्जना नेताहरुको अभिव्यक्तिबाट अपेक्षा गर्न सकिन्न । त्यसैले शान्त, सभ्य रुपमा स्थानीय तहको निर्वाचनका लागि धम्कीपूर्ण अभिव्यक्ति बन्द गर्दै भयमुक्त वातावरणमा आममतदाताले निर्वाचनमा भाग लिने वातावरण बनाउन नेताहरु चुक्नु हुँदैन ।अझै पनि स्थानीय चुनावलाई स्थानीय बन्न नदिएका नेताहरुले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्वबाट चुक्नु हुंदैन । यसका लागि लागि निर्वाचन आयोगले आवश्यक रचनात्मक पहल गर्ने कामलाई अरु ध्यान दिन आवश्यक छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board