वर्षमान पुनले भने– ओलीले आत्तिएर राजावादीसँग चुनावी गठबन्धन गरे

रोल्पा । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले एमाले अध्यक्ष केपी ओली आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरेको बताएका छन् ।

ओली राजावादी, परिवर्तन विरोधी र दक्षिणपन्थी भएको आरोप उनले लगाए । मुलुकलाई प्रतिगमनमा लैजान र परिवर्तन संस्थागत गर्न जारी भएको संविधान च्यात्न दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेकाले ओली र ओलीको दल एमालेलाई जनताले निर्वाचनमार्फत् दण्डित गर्ने उनको भनाइ थियो ।

उनले आसन्न स्थानीय तह निर्वाचनलाई संविधान च्यात्ने र बचाउनेबीचको जनमत संग्रहको संज्ञा दिए । “केपी ओलीजी आज राजावादी, पश्चगामी र प्रतिगामी शक्तिसँग हातेमालो गर्ने ठाउँमा पुग्नुभएको छ । आफ्नै कर्मले संघमा र प्रदेशमा सरकार छैन,” उनले भने ।

नेता पुनले निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने भन्दै त्यसले मात्र संविधान र लोकतन्त्रको रगा तथा हजारौँ सहिदहरुको बलिदानबाट स्थापित वर्तमान व्यवस्था थप सुदृढ हुने विश्वास व्यक्त गरे । एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई पाँच केजीको ढक र आफू एक्लै एक क्विन्टल भएको सार्वजनिक दाबी गरे पनि उनकै व्यवहारले त्यो खण्डित भइसकेको बताए । अन्तर्यमा ओली कमजोर भएको त्यस्तो अभिव्यक्ति दिएको आफूहरुले बुझेको भए पनि कमल थापा, परिवार दल र कांग्रेसले पार्टीबाट निकालेका गोविन्दराज जोशीसँग चुनावी गठबन्धन गरेपछि जनताले समेत उनी गलिसकेको कुरा बुझ्ने मौका पाएको उनले बताए ।

“उहाँ (ओली) पाँच दलसँग लड्छु भनेर हुँकार गर्ने व्यक्तिले राजावादीसँग गठबन्धन गर्नुभएको छ । कसैले नामै नसुनेको, संविधानले चिन्दै नचिनेको परिवार दललाई लिएर गठबन्धन गनुभएको छ । कांग्रेस पार्टीले कारबाही गरेको तनहुँतिरका एक जना नेतालाई एउटा दल मानेर गठबन्धन गर्दै हुनुहुन्छ,” उनले भने,“उहाँ क्विन्टलको कुरा गर्दै हुनुहुन्थ्यो, अहिले एक–एक ग्राम खोज्दै हुनुहुन्छ र एक किलो पुर्‍याउनका लागि कोसिस गर्दै हुनुहुन्छ ।”

पाँच दलीय गठबन्धन सुदृढ र मजबुत बन्दै गएपछि ओली पराजित मानसिकतामा पुगेको दाबी उनले गरे । ओलीले जनता झुक्याउन बाहिर एकथरि र भित्र अर्कोथरि कुरा गर्ने गरेको आरोप लगाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति