औपचारिक रुपमा फुट्यो विप्लवको पार्टी, धर्मेन्द्रको नेतृत्वमा नेकपा बहुमत पार्टी जन्मियो

काठमाडौं, २४ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजित भएको छ । केही समययता एक अर्कामाथि कारवाही श्रृङ्खला चलेको सो पार्टी शुक्रबार औपचारिक रुपमै विभाजित भएको हो । चितवनमा भएको धर्मेन्द्र बास्तोला समूहको राष्ट्रिय भेलाबाट नेकपा (बहुमत) गठनको घोषणा गरिएको छ ।

भेलाले बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको एक नेताले जानकारी दिए । महाधिवेशन आगामी फागुन १ गते हुनेगरी टुंगो लगाइएको एक नेताले जानकारी दिए । राष्ट्रिय भेलाले एकीकृत जनक्रान्तिको कार्यदिशा खारेज गरेको छ भने वैज्ञानिक समाजवादी क्रान्ति भनेर नयाँ कार्यदिशा तय गरिएको छ । नयाँ पार्टीमा विप्लव समूहबाट छुट्टिएर २५ केन्द्रीय सदस्य आफूहरुतिर आएको बास्तोला समूहको दाबी छ । चुनावमा जाने विषयमा दुई पक्षबीच चलेको अन्तरसंघर्ष उग्र बन्दै विभाजनसम्म पुगेको हो ।

विप्लव चुनावमा जाने पक्षमा थिए भने बास्तोलासहित हेमन्तप्रकाश ओलीलगायत चुनावको विपक्षमा थिए । बहुमत केन्द्रीय सदस्य चुनावको विपक्षमा हुँदा कपिलवस्तुमा भएको नेकपाको केन्द्रीय समिति बैठकले चुनावमा जानेबारे ढुलमुले नीति लिएको थियो । अर्थात एमसीसीको विपक्षमा रहेकालाई सघाउने तथा स्वतन्त्ररुपमा उम्मेदवारी दिने नीति पारित भएको थियो । पछि पार्टीका प्रकाण्ड समूहले पार्टी नै दर्ता गरेर चुनावमा जान खोजेपछि विवाद चुलिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति