पाँच वर्षसम्म इमान्दार भएर गरेको विकासका काम नै मेरो जितको आधार हो : मदनसुन्दर श्रेष्ठ

मध्यपुर थिमि नगरपालिकाको मेयरमा एमालेका तर्फबाट मदनसुन्दर श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनी मध्यपुर थिमिको निवर्तमान मेयर पनि हुन् । पेसाले सिभिल इञ्जिनियर रहेका उनी शंखधर मेमोरियल स्कुलका फाउन्डर प्रिन्सिपल हुन् । कानुनमा स्नातक तह, व्यवस्थापनमा स्नातकोत्तर तह अध्ययन गरेका श्रेष्ठलाई मध्यपुर थिमिबासीले मत किन दिने, फेरि मेयरमा उम्मेदवारी दिनुको कारणसहित समग्र विषयमा लिएको अन्तर्वार्ताः

पहिलो कार्यकाल सकेर फेरि आफूलाई मत माग्दै हिँड्दा जनताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
पाँच वर्षको कार्यकाल पूरा गरेर मेयर पदबाट राजीनामा दिएँ । फेरि मेयरमै उम्मेदवारी दिएको छु । र मत माग्न मतदाताको घरघरमा पुगिरहेको छु । पहिलो पाँच वर्षमा जनताले देख्ने गरी धेरै कामहरू भएका छन् । हामीले पाँच वर्षको अन्तरालमा गरेका कामका आधारमा जनताबाट राम्रै उत्साह र फेरि दोहोरिनुपर्छ भन्ने भावना पाएको छु ।

पाँच वर्षको अवधिमा तपाईंले गरेका आफ्ना प्रमुख कामहरूलाई सम्झनु पर्दा कुन कुन कामहरू सम्झनु हुन्छ ?
कामहरू त धेरै भए । तर, आफूले गरेका कामहरू मध्ये ५/६ वटा कामहरू देखिने भन्ने गरेको छु । अरू आमरुपमा बाटाघाटा, सडक, ढल, खानेपानी, ढुङ्गा बिछ्याउने लगायतका विकासका कामहरू भइ नै गयो । मेरो कार्यकालमा भएका महत्त्वपूर्ण कामहरूमध्ये देखिने काम भनेको सङ्घीयता कार्यान्वयनको कामहरू प्रस्ट देखिने गरी गर्‍यौँ । ७५३ वटा पालिकामध्ये एउटै स्थानीय तह छ, जसले आफूलाई स्थानीय सरकार भनेर लेख्छ, त्यो भनेको मध्यपुर थिमि नै हो । हामीले लेटर प्याडदेखि साइनबोर्डसम्म मध्यपुर थिमि नगरपालिका स्थानीय सरकार भनेर लेख्छौँ र त्यहीअनुसार पत्राचार गर्ने गर्छौँ । संघीयताको यो महत्त्वपूर्ण कार्यान्वयनको पाटो हो ।

अर्को, विकास निर्माणको सन्दर्भमा धेरै काम गरेका छौँ । सम्पदा संरक्षणको सवालमा मध्यपुर थिमिमा यो अवधिमा धेरै कामहरू भएका छन् । सम्पदा संरक्षणमा मध्यपुर थिमि नगरपालिकाको काम नेपालकै नमुना र अग्रणी रह्यो । काठमाडौँ, भक्तपुर र ललितपुरमा त पहिल्यै सम्पदा बस्ती थियो । पहिलै सम्पदाको सहर थिए ती । पछिल्लो कार्यकालमा मध्यपुर थिमि उत्कृष्ट सम्पदाको क्षेत्रमा काम गर्ने स्थानीय सरकार हो भन्ने कुरा हामीले पुष्टि गर्न सफल भयौँ भन्ने मलाई लाग्छ । नगरपालिकाबाट १०० बेडको अस्पताल सञ्चालन गर्न सकिन्छ भनेर पुष्टि गर्‍यौँ । अन्यत्र १५ बेडको अस्पताल सञ्चालन गर्न गाह्रो भइरहेको बेला हामीले १०० बेडको अस्पताल सञ्चालन गरेर कोभिडको बेलामा सेवा दियौँ । पिसिआर ल्ययाब सञ्चालन गर्नेदेखि अक्सिजन प्लान्ट सञ्चालन गर्ने काम यहाँ भयो ।

आइसियू व्यवस्था गर्नेदेखि भेन्टिलेटरको व्यवस्थापन र क्राइसिस म्यानेजमेन्टका कामहरूे कुशलतापूर्वक गर्न सक्यौँ । त्यो कामहरू नेपालमै नमुना योग्य रह्यो भन्ने मलाई लाग्छ । अर्को राम्रो र सफल काम भनेको फोहोर मैला व्यवस्थापन पनि हो । हामीले जापनीज् प्रविधि रिकिसी भित्र्याएर जुन कुहिने फोहोरमैलालाई नमुनाका रूपमा व्यवस्थापन गर्न सक्यौँ, त्यो पनिसफलता हो भन्ने मलाई लाग्छ । यो प्रविधिबाट अहिले हामीले लगभग पाँच हजार घरधुरीको फोहर व्यवस्थापन गरेर कम्पोस्ट मल बनाइरहेका छौँ । सम्पदा संरक्षण सँगसँगै नयाँ बस्तीहरूलाई व्यवस्थित सहरीकरण गर्नु पर्छ भनेर पनि काम गरिरहेका छौँ । सबैभन्दा बढी जग्गा एकीकरण आयोजना ल्यान्ड पुलिङ लागु गर्ने नगरपालिको रूपमा रहेको छौँ । उपत्यका विकास प्राधिकरण खारेज हुनुपर्छ भनेर हामीले त्यसबाट सञ्चालित आयोजनाहरू फिर्ता ल्याएर काम गरिरहेका छौँ । प्राधिकरणमा रहेका चार वटा आयोजनामध्ये तीन वटा फिर्ता ल्याएका छौँ भने नयाँ सातवटा आयोजनाहरू हामीले यहाँ सञ्चालन गरेका छौँ । यसरी हामीले व्यवस्थित सहरीकरणका क्षेत्रमा पनि सफलता हासिल गर्‍यौँ भन्ने मलाई लाग्छ ।

अब फेरि नगरप्रमुख हुनु भयो भने के गर्नु हुन्छ ?
जुन विकास निर्माणका अधुरा कामहरू छन्, त्यसलाई पूरा गर्ने छु । सम्पदा बस्तीहरू जुन रुपमा पुनर्निर्माण गर्ने काम भएको छ त्योसँगै नयाँ बस्तीहरू व्यवस्थित सहरीकरण गर्ने कामलाई मैले दोस्रो प्राथमिकतामा राखेको छु । अस्पताल सञ्चालनको काम पनि छ । कोभिडमा हामीले गरेको कामलाई देखेर एक अर्ब पाँच करोड बजेट कोरियन सरकारले स्वीकृत गरेको छ । त्यो रकम कोरियन संसदबाटसमेत पास भएर आइसकेको छ । त्यसको आधारमा हामी तीन सय बेडको पूर्वाधारसहितको अस्पताल बनाउँछौँ । त्यसबाट हामीले एउटा मेडिकल कलेजको आधार तयार गर्ने छौँ । नर्सिङ कलेज समेत सञ्चालन गर्ने छौँ । फोहोरमैला व्यवस्थापनका लागि अहिले पाँच हजार धुरीलाई उपयोगी भएको प्रविधि एउटा वडाका लागि एउटामा सीमित हुने गरी नगरपालिकाभरि विस्तार गर्ने र उपत्यकाभरि विस्तार गर्नुपर्छ भनेर मैले योजना बनाएको छु ।

तपाईं (एमाले)विरुद्ध गठबन्धन बनेको छ । जित कतिको सहज देख्नु हुन्छ र जितका आधार के हुन् ?
मैले जित्ने आधार भनेको पाँच वर्षसम्म इमान्दारसँग देखिने गरी गरेका विकासकै कामहरू हुन् । दोस्रो हाम्रो सङ्गठन नै हो । पाँच वर्षअघि संठनात्मक रूपमा म कमजोर थिएँ, त्यो बेला मैले गठबन्धन गरेर चुनाव लडेको थिएँ । आज कांग्रेस कमजोर भएको छ, उसले गठबन्धन गरेको छ । त्यतिखेर दुई तिहाइ जितेको पार्टी गठबन्धनको सहारामा आउनु भनेको उनीहरू डिफेन्सिभ भएर आएको स्पष्ट हुन्छ । कांग्रेसले यहाँ माओवादीको वैशाखी लिएर आएको छ । हामीले सुनेको भनेको त पाँच दलीय गठबन्धन हो नि । पाँच दलीय गठबन्धनको सरकार छ । यहाँ त अहिले दुई दल मात्र मिलेर आएका छन् । तीन दललाई त उहाँहरूले रिङ आउट गर्नु भएको छ । त्यसैले उहाँहरूको यो गठबन्धन उहाँहरूकै लागि प्रत्युत्पादक हुन्छ भन्ने मलाई लागेको छ । हामीले गरेका विकास निर्माणका कामबाट मतदाता सचेत हुनुहुन्छ । यो गठबन्धनका नाममा जनतालाई झुक्याउने र भागबन्डाको कुरा जुन आएको छ यसलाई जनताले रुचाउने छैनन् । समग्र रूपमा भोटिङ गर्दा मध्यपुर थिमि नगरपालिकामा हामीले बहुमत सदस्यसहित जित्ने छौँ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board