काठमाडौं, २२ बैशाख । १४ अर्ब २७ करोड लगानीको सिमेन्ट उद्योग दर्ता भएको छ। सुर्खेतको चौकुने गाउँपालिकामा कारखाना राख्नेगरी कम्पनीले उद्योग विभागबाट लगानी स्वीकृति पाएको हो।
विभागले वैशाख ११ मा उद्योगलाई लगानी स्वीकृति दिएको हो। विभागमा बुझाइएको विवरणअनुसार उद्योगको स्थिर पुँजी ११ अर्ब हुनेछ भने चालु पुँजी ३ अर्ब २७ करोड रहनेछ। उद्योगमा २२ हजार केभीएको प्रसारणलाइनको आवश्यकता पर्नेछ। उद्योगबाट वार्षिक ५ लाख ७४ हजार २ सय टन ओपीसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ। यस्तै पीपीसी सिमेन्ट २ लाख ८७ हजार १ सय टन र २८ हजार ५ सय ४ टन सिमेन्ट क्लिंकर उत्पादन गर्ने लक्ष्य छ। यसैगरी उद्योगबाट निस्किने तापबाट ६ मेगावाट विद्युतसमेत उत्पादन गर्ने कम्पनीको योजना छ। उद्योगमा शतप्रतिशत स्वदेशी उद्योगी रहेको विभागले जनाएको छ। सम्राट सिमेन्टबाट बाहिरिएका मुकुन्द तिमिल्सिनाले सूर्यतारा सिमेन्टमा लगानी छ। अनिल रुंगटासँग विवाद भएपछि केही महिना अघि तिमिल्सिना सम्राट सिमेन्टबाट वाहिरिएका थिए। तिमिल्सिनाको सेयर उद्योगी विनोद चौधरीले किनेका थिए। सम्राट सिमेन्ट स्थापना गर्ने तिमिल्सिनालाई हटाउन रुंगटाले स्थानीय सेयर लगानीकर्तालाई प्रयोग गरेपछि विवाद भएको थियो। विवादपछि उद्योगको चेयरम्यान रहेका तिमिल्सिनाको ३० प्रतिशत सेयर चौधरीलाई बेचेर वाहिरिएका थिए। सिमेन्टका लागि आवश्यक खानी बराहतालमा तिमल्सिनाले खरिद गरिसकेका छन्। यस्तै जग्गा प्राप्ति र इआइएको काम अन्तिम चरणमा पुगिसकेको छ। उद्योग रहने ठाउँ कर्णाली चिसापानीबाट १२ किलोमिटर मात्रै टाढा छ। कर्णाली नदिमा बनिरहेको डबल पिल्लर आर्क ब्रिजबाट १ किलोमिटर मात्रै टाढा रहनेछ। उद्योगका लागि पञ्चपुरीकै बराहातालमा रहेको खानी प्रयोग हुने छ। खानीबाट उद्योगसम्म चुनढुंगा ओसार्न ३० देखि ३५ किलोमिटर लामो बाटो आवश्यक पर्छ। भिन्न भिन्न ठाउँमा गरेर २० किलोमिटर जति बाटो बनिसकेको र बाँकी ठाउँमा भने नयाँ ट्रयाक नै खोल्नुपर्ने छ।
प्रतिक्रिया