मौखिक निर्देशनकै भरमा पुनः खुल्न थाले एलसी

काठमाडौं, २० बैशाख । राष्ट्र बैंकको निर्देशनमा २१ चैतदेखि आयात रोकिएका वस्तुहरुको प्रतीतपत्र (एलसी) खुल्न थालेको छ । केन्द्रीय बैंकको मौखिक निर्देशनबाट आयात रोकिएका वस्तुहरुको आयात एलसी पुनः मौखिक निर्देशनकै भरमा खुल्न थालेको बैंक तथा व्यापारीहरुले बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात रोक्ने वस्तुको सूची राजपत्रमा सूचना प्रकाशित गरेपछि राष्ट्र बैंकको मौखिक निर्देशनमा रोकिएको एलसी नियमित भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत हप्ताको अन्त्यतिरबाट सुन आयातको एलसी खुलको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । ‘चैत २१ देखि बन्द रहेको कोटाभित्रकै सुन आयात नियमित भएको छ,’ शाक्याले भने ‘­पुरानै कोटा अनुसार सुन आयातका लागि बैंकहरुले एलसी खोलेका छन् ।’

बन्दपछि खोलिएको एलसीको सुन आउन भने अझै केहीदिन लाग्ने पनि अध्यक्ष शाक्यले बताए । सुन आयात हुने मुलुक दुबईमा इदको बिदाका कारण प्रशासनिक झन्झट देखिएको उनले बताए । सुन आयातका लागि राष्ट्र बैंकले जारी गरेको नगद मार्जिनको व्यवस्था भने यथावत नै रहेको उनको भनाइ छ ।

नेपाल इम्पोटर्स एसोसिएसनले पनि सरकारले तोकेको १० प्रकारबाहेकका अन्य वस्तुको आयातको एलसी खुलेको जनाएको छ । करिब ३ सय प्रकारका शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरिएका वस्तुको आयात एलसी खुलेको संघका वरिष्ठ उपाध्यक्ष एसबी ढकालले बताए ।

‘राष्ट्र बैंकको मौखिक निर्देशन भन्दै वाणिज्य बैंकहरुले रोकेको एलसी अहिले खुलेको छ,’ ढकालले भने ‘आयात निरुत्साहनका लागि कम मात्रामा एलसी खोल्न भनिएको छ ।’

एक करोडको सामान आयात गर्नेलाई २० देखि ३० लाखको मात्रै एलसी खोल्न भनिएको पनि उनले बताए । सरकारले राजपत्रमा सूचना निकालेर आयात रोकेकाबाहेक अन्य वस्तुको आयातमा एलसी खोल्ने क्रम सुरु भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

शोधानान्तर घाटा चुलिएको र ढुकुटीमा विदेशी मुद्रा सञ्चिति घटेको भन्दै गत पुस देखि आयातको भुक्तानीमा राष्ट्र बैंकले कडाइ गर्दै आएको छ । गत चैत २१ को राष्ट्र बैंकको निर्देश्न पछि बैंकहरुले गाडी, मदिरा लगायतका बिलासिताका वस्तुको आयात रोक्ने निर्णय गरेका थिए ।

तर, आयात रोक्ने केही दिनअघि र आयात रोक्ने निर्णय लगत्तै राष्ट्र बैंक र बैंकहरुको मिलोमतोमा सीमित व्यापारीक घरानालाई ठूलो मात्रामा वस्तु आयातको अनुमति दिइएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति