चुनावी मैदानमा बाबु-छोरा : बाबुले एकातिर भोट माग्दै , छोराले आफ्नो लागि माग्दै

काठमाडौं, २० बैशाख । पहिलो संविधान सभा निर्वाचनमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई चुनाव हराएर चर्चा कमाएका रोल्पाली माओवादी नेता झक्कु प्रशाद सुवेदी यतिबेला असजिलोमा छन्। आशन्न स्थानीय तह निर्वाचनमा झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी बिप्लव नेतृत्वको नेकपाको निर्देशन बमोजिम स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवार बनेका छन्।

बुवा नेकपा माओवादी केन्द्रका केन्दीय नेता हुन् भने छोरा बिप्लवका जिल्ला स्तरीय नेता हुन्। छोरा नै अर्को दलको प्रतिनिधित्व गर्दै स्वतन्त्रबाट उम्मेदवार बनेपछि सकस थपिएको हो। माओवादी केन्द्रका नेता समेत रहेका उनीहरु रोल्पा सुनिलस्मृती गाउँपालिका वडा न. ६ गजुलका स्थायी बासिन्दा हुन्।

वडा अध्यक्षको उम्मेदवार बनेका सन्तोष जनतामा आफू बारे धारणा राम्रो रहेको बताउँदै बिपक्षले भ्रम छर्न खोजेको आरोप लगाउछन्। ‘बुवाको कारण मेरो भोट घट्दैछ। बुवाले नै छोरालाई भोट नदिनुस भन्दै हिड्नु भाएको छ। गाउँको सेवा गर्छु भन्दा बुवा नै बिरोधमा हुनुहन्छ। त्यै पनि जित्ने बिश्वास छ।’

माओवादी नेता झक्कुप्रसाद सुवेदीले छोरा फरक तरिकाले उम्मेदवार बने पनि आफूलाई कुनै असजिलो नभएको बताउँछन्। ‘मैले छोरालाई तिमी वडा अध्यक्षमा नउठ तिम्रो हैसियतमाथि हो भने तर मानेनन्। म त माओवादी लिडर भएकाले पार्टी कै प्रचार गरिरहेको छु। पार्टीको योजना अनुसार माओवादी केन्द्रको प्रचार प्रसारमा छु।’

यतिबेला गजुलका मतदाता भने अन्यौलमा छन्। बुवाले एकातिर भोट माग्दै छन् भने छोराले आफ्नो लागि माग्दैछन्। एकै घरका बुवा र छोरा फरक धारमा हिँडेपछि स्थानीयसंगै आफन्तलाई पनि असजिलो भएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति