महेन्द्रनगर, २० बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कञ्चनपुरको बेलौरी नगरपालिका आउने भएका छन्।
जिल्लाको पूरानो सदरमुकाम बेलौरीमा वैशाख २२ गते हुने चुनावी आमसभालाई सम्बोधन गर्न ओली पहिलोपटक आउने भएका हुन्। एमाले जिल्ला सचिव पल्लवराज भट्टले २२ गते दिउँसो दुई बजे बेलौरीको खुल्लामञ्च हुने आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली आउने जानकारी दिए। उनकाअनुसार पार्टीको अध्यक्ष भएपछि बेलौरीमा ओलीको यो पहिलो भ्रमण हो। बेलौरीमा यसअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेर सम्बोधन गरेका छन्। बेलौरी संघीय निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ। यहाँबाट प्रचण्डकी बुहारी बिना मगर प्रतिनिधिसभा सदस्य छिन्। बिनाको क्षेत्रमा अध्यक्ष भएपछि ओली पहिलोपटक आउन लागेका हुन्। आसन्न स्थानीय तह निर्वाचनमा बेलौरीमा एमालेबाट केन्द्रीय सदस्य कमला बोहरा मेयरको उम्मेदवार छिन्। बोहराकै आग्रहमा ओली सम्बोधनका लागि आउन लागेको बताइएको छ। ओलीले पनि प्रचण्डको परिवारसँग जोडिएको ठाउँलाई प्राथमिकतामा राखेको नेताहरु बताउँछन्। ओलीले प्रचण्डकी छोरी रेणु दाहाल मेयरको उम्मेदवार रहेको भरतपुरमा वैशाख २६ गते सम्बोधन गर्ने कार्यक्रम छ। बिना मगर निर्वाचित क्षेत्र नम्बर १ मा हाल एकीकृत समाजवादीमा रहेका प्रदेश सांसद तारालामा तामाङको पनि पकड छ। यहाँ कांग्रेसका दिवानसिंह विष्टको पनि प्रभाव छ।
प्रतिक्रिया