ओली किराँत धर्मावलम्बीहरूको आस्थाको मन्दिर माङसेबुङ लारुम्बा पुग्दै

काठमाडौ, २० वैशाख । भद्रपुर, बिर्तामोड, धुलाबारीका चुनावी सभाहरूलाई सम्बोधन गर्न झापा गएका एमाले अध्यक्ष केपी ओलीले आफ्नो राजनीतिक भ्रमणलाई धार्मिक रङ दिने भएका छन् ।

उनी भोलि बुधबार किराँत धर्मावलम्बीहरूको आस्थाको मन्दिर माङसेबुङ लारुम्बा पुग्दैछन् । ‘गुरु (आत्मानन्द लिङ्देन) सँग भेटघाट कार्यक्रम छ,’ एमाले उच्च तहका नेताले शिलापत्रलाई भने, ‘त्यहाँका जनप्रतिनिधिसमेत रहेका सुवासचन्द्र नेम्वाङ र अरु नेताहरू पनि अध्यक्षसँगै गुरुको भेटका लागि आउँदै हुनुहुन्छ ।’ ०५६ सालअघिसम्म राजनीतिक गतिविधि गर्न नपाइने भनिएको लारुम्बाक्षेत्रमा सोही वर्ष नेम्वाङ निर्वाचित भएसँगै दलगत प्रभावमा पर्न थालेको हो । किराँतीहरूले महागुरु फाल्गुनन्दले समाज सुधारको पदचिह्न राखेको ठाउँ भनी पवित्रतापूर्वक पुज्ने गरिए पनि पछिल्ला वर्षहरूमा राजनीतिक रुचिको क्षेत्र पनि उत्तिकै बन्दैछ यो ठाउँ । कांग्रेस, माओवादीलगायत दलहरू पनि गुरु आत्मानन्दको दर्शन गर्ने, आशिष लिने गर्दछन् । नेम्वाङले गणतन्त्र स्थापनापछि संविधानसभा अध्यक्ष भएसँगै तत्कालीन राष्ट्रपति रामवरण यादव, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायतलाई पालैपालो लारुम्बा प्रवेश गराएका छन् । राष्ट्रपति विद्या भण्डारी, तत्कालीन प्रधानमन्त्री ओलीसमेतले लारुम्बामा गुरुको दर्शन गरेका छन् । अहिले ओली राजकीय पदमा नरहे पनि आत्मानन्दको भेट गर्न लारुम्बा जान लागेका हुन् । ‘राजनीतिक कार्यक्रमहरूकै सिलसिलामा अध्यक्ष लारुम्बा जान लाग्नुभएको हो, गएका बेला गुरुसँग भेट हुनु सामान्य हो,’ ओलीनिकट मानिने एमाले केन्द्रीय सदस्य गोविन्द थापाले भने, ‘पहिलेदेखिकै भेटघाट हो गुरुसँग । गएको बेला शुभेच्छा आशीर्वाद लिने कुरा भइहाल्छ साधारणयता ।’

०६४ को संविधानसभा चुनावमा दमक क्षेत्रमा ओली पराजित भएका थिए । ०७० को चुनावअघि उनी गुरुसँग आशीर्वाद माग्न लारुम्बा गएका थिए । ०७० यताका दुई चुनावमा ओली जितिरहेका छन् । लारुम्बा रहेको इलाम क्षेत्र २ मा नेम्वाङ ०५६ यता अपराजित छन् । सोही माङसेबुङ गाउँपालिकामा भने ०७४ को स्थानीय चुनावमा कांग्रेसले जितेको छ । माओवादी द्वन्द्वकालमा लारुम्बाको धार्मिक दस्ता काम्राङसँग लडाकुहरूको तिक्तता बढेको थियो । त्यसबेला माओवादीले लारुम्बाका स्वयंसेवकलाई गुरु आश्रममै आक्रमणको धम्की दिएको थियो भने माओवादीका नेताहरूलाई पक्रेर राज्यपक्षकहाँ बुझाउन त्यहाँका केही स्वयंसेवकहरू सक्रिय थिए । ओलीको आसन्न गुरु–भेटलाई एमालेले ओली–भ्रमणको औपचारिक कार्यसूचीमा समावेश गरेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति