एमाले एक क्विन्टलको आलु, गठबन्धन १/१ तोला भए पनि सुन हो : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) एक क्विन्टलको आलु भएको तर गठबन्धन एक/एक तोला मात्र भए पनि सुन भएको जिकिर गरेका छन् । आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले पालिका चुनावमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरु एक/एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताए । त्यसप्रति इंगित गर्दै महामन्त्री शर्माले एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक/एक तोला मात्र भएपनि सुन भएको जिकिर गरे ।

“नेपाली कांग्रेस पार्टी बलियो ढंगले विजयी बन्दै गर्दा कमरेड केपी ओलीलाई लाग्यो, उहाँले भन्नुभयो– एक/एक किलाका पाँच ओटा ढक हुन् भन्नुभयो । हामी एक्लै क्विन्टल हौँ भन्नुभयो । मेरा जिल्लावासीलाई म विनम्रपूर्वक भन्छु, हामी उहाँले जस्तै गरी नकरात्मक ढंगले बोल्दैनौँ तर हिसाब नमिलेपछि हिसाब बझाइदिनुपर्छ,” उनले भने,“हामी पाँच ओटा एक/एक किलाका ढक होइनौँ । हामी एक/एक तोला मात्रै हौँ । क्विन्टल चाहिँ उहाँ क्विन्टल नै हो । तर, एक क्विन्टल आलु र पाँच तोला सुनको हिसाब बजारमा गएर सोध्यो भने कमरेड केपी ओलीलाई थाहा हुन्छ, वास्तविकता के हो ।”

महामन्त्री शर्माले कांग्रेस यही वैशाख ३० गते हुने पालिका चुनावमा राष्ट्रिय रुपमा विजयी बन्ने दाबी पनि गरे । उनले कांग्रेसले पालिका चुनावमा विजयी बन्दै गर्दा विजयको कुरामात्र नसोचेको र समाजलाई एकै ठाउँमा कसरी उभ्याएर जाने ? भन्नेबारेमा पहलकदमी गरिरहेको बताए ।

शर्माले एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिए पनि भित्र भने कमल थापासँग तालमेल गरिरहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति