भूपू गोरखाहरुको पेन्सन सिधैँ राष्ट्र बैंकमै आउने व्यवस्था मिलाउन माग

लन्डन । बेलायतस्थित भूतपूर्वगोरखाहरुको पेन्सन अहिलेसम्म पनि भारतको रिजर्भ बैकमा जम्मा हुँदा नेपाललाई करोडौँ रुपैयाँ घाटा भएको भन्दै गोर्खाहरुले आपत्ति जनाएका छन् ।

गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति युके नेपालका प्रमुख संयोजक कृष्णबहादुर राई र ब्रिटिस गोरखा नेपाली नागरिकता निरन्तरता अभियान युके नेपालका प्रमुख संयोजक सन्तोष थलङले बेलायतस्थित नेपाली दूतावासमार्फत् अर्थमन्त्रीलाई एक पत्र लेख्दै सरकारको दशकौँदेखि पाउण्ड स्टर्लिङबाट भारुमा हुँदै नेपाल आउने भूतपूर्व गोर्खाहरुको पेन्सन पाउण्ड स्टर्लिङ सिधैँ नेपाल राष्ट्र बैंकमै आउने व्यवस्था मिलाउन नेपाल सरकार तथा बेलायत सरकारसँग जोडदार माग गरेका हुन् ।

देशलाई संकट परेको अवस्थामा हामीले हाम्रो जिन्दगीको बाजी लगाएर आर्जेको ब्रिटिस सेनाको पेन्सन र क्षतिपूर्ति पाउण्ड स्टर्लिङमै नेपाल राष्ट्र बैंकमा जम्मा हुने व्यवस्था मिलाई देशका लागि वैदेशिक मुद्रा आयात गर्ने दीर्घकालिन श्रोत निर्माण गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउन चाहन्छौँ पत्रमा उल्लेख छ ।

उनीहरुले नेपालमा हाल अर्थतन्त्रमा देखिएको संकटप्रति चासो देखाउँदै नेपाली नागरिकता निरन्तरताको सुनिश्चितता नभएर दीर्घकालीन बसोबास नै बेलायतमा हुने परिस्थिति भए गोरखाहरुले बाध्य भएर नेपालमा भएका आफ्नो चल–अचल सम्पत्ति बिक्री गरि अर्बौँ नेपाली मुद्रा बेलायत तिरै लैजानुपर्ने स्थिति सिर्जना हुनेतर्फसमेत सचेत गराएका छन् ।

गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति तथा ब्रिटिस गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समितिले संयुक्त रुपमा शुक्रबार लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यमार्फत् अर्थमन्त्रीलाई पेस गरेको पत्रमा वैदेशिक मुद्रा आयात गर्ने दीर्घकालीन श्रोत निर्माण गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउन लालयित भएको जनाउँदै गोर्खाहरुले यसका लागि तत्काल पहल गर्न नेपाल सरकारलाई विशेष सुझावसहित अनुरोध गरेका छन् ।

उनीहरुले पत्रमा गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको निर्णायक आन्दोलन पश्चात नेपाल सरकार, बेलायत सरकार र गोरखा प्रतिनिधिबीच सम्पन्न हुने वार्तामा यस विषयलाई प्रमुख एजेन्डाका रुपमा समावेश गरिएको स्मरण गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति