सबै विद्युतीय सवारी र २५० सीसी सम्मका दुईपांग्रे आयातमा खुल्ला

काठमाडौँ, १४ बैशाख । सरकारले प्यासेन्जर भेहिकल र २५० सीसीमाथिका मोटरसाइकल आयातमा रोक लगाएको छ। वैदेशिक मुद्रा सञ्चितिमा चाप पर्दै गएपछि असार मसान्तसम्म गाडी तथा मोटरसाइकल आयातमा रोक लगाएको हो।

सरकारले पेट्रोल डिजेल इन्जिनका प्यासेन्जर भेहिकल (कार) आयातमा रोक लगाउँदा विद्युतीय गाडीलाई भने खुल्ला राखेको छ। त्यसबाहेक एम्बुलेन्स र ढुवानीका सवारीसाधन आयातमा रोक लगाएको छैन। त्यस्तै २५० सीसी कमका मोटरसाइकल आयात पनि खुल्ला गरेको छ। आयात बन्देज लगाइएका वस्तुहरु नेपालस्थित कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैंले आयात गर्न भने रोक लगाइएको छैन। त्यस्तै वैशाख १३ गतेअघि बैंकिङ माध्यमबाट आयातको प्रक्रिया सम्पन्न भइसकेका हकमा पनि व्यवस्था लागु नहुने बताएका छन्। नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बैंकहरुको निर्णयभन्दा केही सुधार भएको बताए। उनले सबै गाडी आयात रोक लगाउँदा डेढ दुई महिनापछि गाडी बजारमा पाउन मुश्किल पर्ने बताए। ‘अब कमर्सियल, विद्युतीय र २५० सीसीभन्दा कमका मोटरसाइकललाई समस्या भएन,’ अध्यक्ष थापाले भने, ‘सबै गाडी आयात बन्द गर्दा अबको डेढ २ महिनापछि गाडी नपाउने समस्या आउने बताए।’ असार मसान्तसम्म गाडी आयात गर्न नपाउने भएपछि असार मसान्तसम्म एलसी नखोल्दा असार, साउन र भदौ महिनामा ग्रहाकले चाहेको गाडी पाउन नसक्ने बताए। ‘असारमसान्तसम्म बन्द गरेर साउन १ गतेबाट खोल्दा गाडी आइहाल्दैनन्’, थापाले भने, ‘साउनमा एलसी खोली गाडी भदौ मध्यबाट मात्रै आउन थाल्छन्। भदौ मध्यसम्म अहिले एलसी खोलेका गाडीले धान्दैनन्।’ राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले सरकारले रोक लगाएका वस्तुमा अब बैंकबाट एलसी नखुल्ने बताए। पोखरेलका अनुसार बैंकहरुले आफूअनुकूल एलसी खोल्नसक्ने जानकारी दिए। राष्ट्र बैंकले आयात गर्दा राख्नुपर्ने मार्जिन भने यथावत् छ। ‘राष्ट्र बैंकले आयात हुने वस्तुमा ५० प्रतिशत र शतप्रतिशत मार्जिन राख्ने कुरा अर्को सूचना नआएसम्म यथावत् हुन्छ’, उनले भने, ‘सरकारले रोकेकाबाहेकका वस्तुमा बैंकहरुले एलसी खोल्न रोकेको वस्तु आफू अनुकूल गर्न सक्छन्। क्षमता भएका बैंकले खोल्लान्।’

सरकारले १६ वटा एचएसकोडका गाडी आयातमा रोक लगाएको छ। यसमध्ये १३ वटा एचएसकोडमा चैतसम्म गाडी आयात भएका छन् भने एउटा एचएसकोडमा एम्बुलेन्स र शववाहन पर्छन् जुन आयातको लागि खुल्ला छन्। दुईपांग्रेमा ३ वटा एचएसकोडका सवारीसाधन अयातमा रोक लगाएको छ। नेपालमै ल्याएर एसम्बल गर्ने २५० सीसी माथिका मोटरसाइकलको आयात भने रोकेको छैन। एचएस कोड ८७०३२१९९ का हजार सीसीभन्दा कमका गाडी आयात बन्द गरेको छ। चैतसम्म नेपालमा ३ हजार ९ वटा गाडी भित्रिसकेका छन्। ८७०३२२९० पेट्रोल इन्जिनका हजारदेखि १५०० सीसीसम्मका सबै गाडी बन्द भएका छन्। उक्त समूहमा चैत महिनासम्म ७ हजार ६२२ वटा गाडी आयात भएका छन्। ८७०३२३१९ एसएस कोड पेट्रोल इन्जिनका १५ सय सीसीदेखि २ हजार सीसीसम्मका गाडी पर्छन्। यसअन्तर्गत १९० वटा गाडी आयात भएका छन्। ८७३२३२९ एचएस कोडमा १५ सयदेखि ३ हजार सीसीसम्ममा गाडीको आयातमा रोक लगाएको छ। यसमा २२ वटा गाडी आयात भएका छन्। ८७०३२३३९ एसएस कोडमा सिलिन्डर क्यापिसिटी ५०० सीसीदेखि ३ हजारसम्मका गाडीको आयातमा रोक लगाएको छ। चैतसम्म ३ वटा गाडी मात्रै आयात भएका छन्। ८७०३२४१० एचएस कोडमा ३ हजार सीसी माथिका स्पार्क इन्जिन गाडीको आयातमा बन्द भएका छन्। चैतसम्म ३ वटा गाडी मात्रै आयात भएका छन्। ८७०३२४९० एसएस कोडमा ३ हजार सीसीमाथिका पेट्रोल इन्जिन गाडी आयात हुन्छन्। चैतसम्म २३३ वटा गाडी आयात भएका छन्। ८७०३३१९० एसएसकोड १५ सय सीसीसम्मका डिजेल गाडी पर्छन्। चैतसम्म ३८८ वटा गाडी आयात भएका छन्। ८७०३३२०० मा डिजेल इन्जिनका एम्बुलेन्स र शववाहन पर्छन्। यसको आयात गर्न रोक लगाएको छैन। चैतसम्म जम्मा एउटा मात्रै भित्रिएको भन्सार विभागको रेकर्डमा छ। ८७०३३२१९ एचएस कोडमा १५०० देखि २५०० सीसीसम्मका डिजेल इन्जिनका गाडी पर्छन्। चैत मसान्तसम्म ९१७ वटा गाडी नेपाल भित्रिएका छन्। ८७०३३२२९ एसएस कोडमा डिजेल इन्जिनकै १५०० देखि २५०० सीसीसम्मका गाडी पर्छन्। ९ महिनामा ६३ वटा गाडी आयात भएका छन्। ८७०३३३९० सिलिन्डर क्यापासिटी २५०० सीसीमाथिका गाडी पर्छन्। ९ महिनामा १७६ वटा गाडी आयात भएका छन्। ८७०३६०९० एचएस कोडमा २ हजार सीसीमाथिका पेट्रोल–इलेक्ट्रिक हाइब्रिड गाडी आयात हुँदै आएका छन्। चैतसम्म १४ वटा गाडी आयात भएका छन्। ८७०३४०९०, ८७०३५०९० र ८७०३७०९० एचएस कोडका चैतसम्म कुनै पनि गाडी आयात भएका छैनन्।

चैतसम्म २५० सीसीसम्मका २ लाख १९ हजार मोटरसाइकल नेपाल भित्रिएका छन्। ८७११३०९० एचएस कोडमा २०० देखि ४०० सीसीसम्मका मोटरसाइकल नेपालमा भित्रिँदै आएका छन्। चैतसम्म ६ हजार ३१३ वटा मोटरसाइकल नेपाल भित्रिएको सरकारी तथ्यांकमा उल्लेख छ। ८७१११४०० एचएस कोडमा ५०० सीसीदेखि ८०० सीसीसम्मका मोटरसाइकल पर्छन्। चैतसम्म ४ वटा मात्रै भित्रिएका थिए। ८७१११५०० एचएस कोडमा ८०० सीसीमाथिका मोटरसाइकल पर्छन्। चैतसम्म एउटा मात्रै मोटरसाइकल नेपाल भित्रिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति