चितवन, १३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार विहान चितवनको भरतपुर आएर फर्किएका छन् ।
भरतपुर महानगरको मेयरमा पुत्री रेनु दाहालले दोस्रोपटक मेयर पदमा उम्मेदवारी दिएको भोलिपल्ट प्रचण्ड भरतपुर आएर केही घण्टाभित्रै काठमाडौं फर्किएका हुन् । उनी पार्टीका नेताहरुसँगको महत्वपूर्ण भेटघाटका लागि आएको माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । ‘उहाँको पारिवारिक भेटघाट पनि हो, यहाँका नेता कार्यकर्तासँग भेटघाट र वस्तुस्थितिको बारेमा जानकारी लिन आउनुभएको हो’ संयोजक अधिकारीले भने । सत्तारुढ गठबन्धनले महानगरपालिकाका उम्मेदवार भागवण्डा गर्दा भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवा माओवादी केन्द्रले पाएको छ । तर मेयरको उम्मेदवार आफूहरुले पाउनुपर्ने भन्दै कांग्रेसका जिल्लास्तरका कतिपय नेताहरुले विरोध जनाएका छन् । केही नेताले स्वतन्त्र रुपमा उम्मेदवारी पनि दिएका छन् । यही विषयलाई लिएर प्रचण्ड चितवन आए पनि कांग्रेस नेताहरुसँग भेट भने गरेनन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रचण्डसँग भेटघाट नभएको तर फोन भने गरेको बताए । ‘उहाँले फोन गर्नुभयो, अवस्थाका बारेमा जानकारी लिनुभयो, ५/६ घण्टाका लागि आएको भन्नुभयो’ सभापति खनालले भने, ‘३र४ दिनपछि आउँछु अनि बसेर कुराकानी गरौंला भन्नुभयो, मैले हुन्छ भनेँ ।’ चितवनमा असन्तुष्ट कांग्रेसका तर्फबाट पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा बागी उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट भरतपुर महानगरमा मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेलले प्रचण्डसँग कुनै भेटघाट वा कुराकानी नभएको बताए । उनले भने, ‘सत्ता गठबन्धनका नेताहरुसँग कुराकानी भने भइरहेको छ तर मैले उम्मेदवारी फिर्ता लिन्न ।’
प्रतिक्रिया