देउवाको गृहजिल्लामै फुट्यो कांग्रेस, मल्ल समूह र एमालेबीच तालमेल

कञ्चनपुर, १३ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा कांग्रेस फुटेको छ। स्थानीय तह निर्वाचनअगाडि कांग्रेस डडेल्धुरामा असन्तुष्ट पूर्व सभापति कर्ण मल्ल पक्ष नेपाली कांग्रेस (बीपी) बाट अलग्गै चुनावमा होमिएको छ।

क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गरिरहेको मल्ल पक्षले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गरेको छ। डडेल्धुरामा मल्लनिकट कांग्रेस नेता कार्यकर्ताको पङ्क्ति कांग्रेस (बीपी) मा लागेको हो। छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित सिंगो जिल्ला कार्य समिति आफूसँग रहेको मल्लनिकट नेताहरु बताउँछन्। ‘हामीसँग अन्यायमा पारिएको कांग्रेसको ठूलो शक्ति छ। कोही अहिले टिकटको प्रलोभनमा उतै गए होलान्,’ मल्लनिकट एक नेताले भने, ‘त्यतिकै संख्यामा हामीसँग जोडिएका पनि छन्। स्थानीय निर्वाचनमा हामी जित्छौँ।’ मल्ल पक्षले स्थानीय तह निर्वाचनका लागि टिकट बाँडफाँट गर्दा अन्यायमा परेका नेताहरूलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिँदै आएका थिए। आफ्ना माग सुनुवाई नभएपछि कांग्रेस छाडेर गरी नेपाली कांग्रेस बीपीमा प्रवेश गरेको ती नेताले बताए। दुई नगरपालिका र पाँच वटा गाउँपालिका रहेको डडेल्धुरामा कांग्रेसबाट ‘विद्रोह’ गरेको मल्ल पक्षले नेकपा एमालेसँग तालमेल गरेर सोमबार उम्मेदवारी दर्ता गराएको छ। आलिताल गाउँपालिकाबाहेक भएको भागबन्डाअनुसार जिल्लाका ३ स्थानीय तह प्रमुख र ३ उपप्रमुखमा एमालेले उम्मेदवारी दिएको छ। ३ स्थानीय तह प्रमुख र ३ उपप्रमुखमा बीपीले उम्मेदवारी दर्ता गरेको छ। ‘आलितालमा हाम्रा साथीहरुले आइतबार स्वतन्त्र उम्मेदवारी दिएका रहेछन्। कांग्रेस बीपीको करुवामा चुनाव चिह्नमा लड्ने निर्णय सोमबार गर्‍यौँ,’ एक नेताले भने, ‘त्यसैले एमाले र हामी दुवैको उम्मेदवारी परेको हो। त्यहाँको भागबन्डाबारे छलफल गर्दैछौँ।’ आलितालमा एमालेबाट अध्यक्षमा मीन बोगटी र उपाध्यक्षमा शान्ति भट्ट जोशीको उम्मेदवारी परेको छ। त्यहीँ कांग्रेस बीपीतर्फबाट टेकबहादुर खड्काको नेतृत्वमा स्वतन्त्र उम्मेदवारी परेको छ। सदरमुकामको अमरगढी नगरपालिकामा एमाले र कांग्रेस बीपी गठबन्धनबाट प्रमुखमा बीपीका हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थीको उम्मेदवारी परेको छ।

एमालेको भागमा परेको परशुराम नगरपालिकाको मेयरमा केशव बोहरा र उपप्रमुखमा बीपीबाट गोपा थापाले मनोनयन दर्ता गराएका छन्। परशुरामको उपमेयरमा एमालेबाट गौमती पन्तले पनि उम्मेदवारी दिएकी छिन्। उनलाई उम्मेदवारी फिर्ता लिन लगाउन एमालेका नेताहरु सक्रिय छन्। एमालेले पाएको अजयमेरु गाउँपालिकाको अध्यक्षमा पदम पाल र उपाध्यक्षमा बीपीका रामचन्द्र ऐरले मनोनयन दर्ता गराएका छन्। यस्तै नवदुर्गा गाउँपालिकामा कांग्रेस बीपीबाट अध्यक्ष गोकुल शाही र उपाध्यक्षमा एमालेबाट वीरबहादुर विष्टले उम्मेदवारी दिए। प्रमुख कांग्रेस बीपीको भागमा परेको गन्यापधुरामा अध्यक्षमा सुरेन्द्र माली र एमालेबाट उपाध्यक्षमा इन्द्र महराले मनोनयन दर्ता गराएका छन्। एमालेको भागमा परेको भागेश्वरको अध्यक्षमा रामबहादुर शाही र उपाध्यक्ष कांग्रेस बीपीबाट नरबहादुर ठकुराठीले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ। कांग्रेसको ठूलो पङ्क्ति पार्टी बाहिर गएकाले देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसलाई चुनाव जित्न चुनौती छ। ‘मल्लजीले पार्टीमा हुँदा पनि सहयोग गर्नु भएको थिएन। बाहिर गएर ठीकै भएको छ,’ नेपाली कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति डिल्लीराम जोशीले भने, ‘उहाँसँग अहिले कोही हुनुहुन्न। कांग्रेसलाई असर पर्दैन।’

सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसका सभापति देउवाको गृहजिल्लामा गठबन्धन भाँडिएको छ। भागबन्डामा सहमति नजुटेपछि गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आ–आफ्नै उम्मेदवार उठाएका छन्। ‘सत्तागठबन्धन कायम रहन सकेन। हामी एक्ला एक्लै चुनाव लड्दैछौँ। उम्मेदवार मनोनयन दर्ता गराएका छौँ,’ एकीकृत समाजवादी डडेल्धुराका अध्यक्ष तारा जोशीले भने, ‘अजयमेरुमा माओवादीसँग हाम्रो तालमेल भएको छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति