प्रदेश १ कै कान्छी उम्मेदवार अस्मिता थापा

काठमाडौं, ११ बैशाख । ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेबाट आइतबार उम्मेदवारी दर्ता गराएकी अस्मिता थापा प्रदेशकै कान्छी उम्मेदवार बनेकी छन् । २६ वर्षीया थापाले यसमस्थित निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्तासहित गएर उम्मेदवारी दर्ता गराएकी छन् । लिखुमा एमालेले अध्यक्षमा मिलन विष्ट र उपाध्यक्षमा अस्मिता थापालाई उम्मेदवार बनाएको हो । एमालेका प्रदेश सचिव चिन्तन पाठकले पार्टीबाट पालिका प्रमुख र उपप्रमुखमा निर्णय भएकामध्ये थापा सबैभन्दा कम उमेरकी उम्मेदवार रहेको बताए ।

गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल, उपाध्यक्ष शान्ता ढुंगेललगायत नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्ता गरिएको थियो । प्रदेशकै कान्छी उम्मेदवार थापाको प्रस्ताव हालका गाउँपालिका अध्यक्षकी पत्नी यक्षकुमारी पौडेल र समर्थक प्रदेश कमिटी सदस्य लोचन बस्नेत रहेका छन् । आइतबार पहिलो दिन लिखु गाउँपालिकामा एमाले र स्वतन्त्र उम्मेदवारको मात्र उम्मेदवारी मनोनयन परेको छ ।अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रहेकी थापा एमालेको ओखलढुंगा जिल्ला कमिटी सदस्य हुन् । पछिल्लो समय विद्यार्थी राजनीतिसँगै गाउँमा सामाजिक तथा राजनीतिक गतिबिधिमा सक्रिय रहेकी थापालाई एमालेको गाउँपालिका कमिटीले उपाध्यक्ष सिफारिस गरेको थियो ।उम्मेदवारी दर्ता गरेपछि थापाले स्थानीय तहको पहिलो कार्यकाल नीतिगत संरचना निर्माणमा सफल भएको र अग्रज जनप्रतिनिधिले थालेका कामलाई पूर्णता दिँदै गाउँपालिकालाई कृषि र पर्यटनमैत्री बनाएर आत्मनिर्भरतातर्फ लैजान आफूहरुले पहल गर्ने बताइन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरिरहेकी थापा गाउँपालिकाका विभिन्न वडामा कोभिड महामारीका बेला अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने तथा पुर्वाधार विकासमा बजेट पार्न विभिन्न मन्त्रालय र विभागमा लबिङ गर्न सक्रिय थिइन् ।

थापाले युवा महिला हुनुको नाताले समावेशी विकासको साथै महिलालाई गाउँपालिकाकै सहयोग र समन्वयमा उत्पादन तथा रोजगारीमा जोडेर आर्थिक रुपमा आत्मनिर्भर बनाउने विशेष योजना आफूसँग रहेको बताइन् ।

उनले गाउँमा अझै पनि महिलामाथि हुने विभेद र आर्थिक परनिर्भरताको अन्त्यका लागि स्थानीय सरकारले विशेष कार्यक्रम तथा उद्यमशीलताका साथै रोजगारीका अवसरमा प्राथमिकता दिन सकिने बताएकी छन् । थप विषय प्रतिबद्धतापत्रमा समेटिने उनको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति