चुनावी तालमेलबारे अर्जुननरसिंहले राखे ५ बुँदे फरक मत

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले केन्द्रीय कार्यसम्पादन समितिमा पाँच बुँदे फरक मत राखेका छन् । उनले सभापति शेरबहादुर देउवालाई लेखेको पत्रमा स्थानीय तह निर्वाचनमा चुनावी तालमेलप्रति असन्तुष्टि जनाएका छन् ।

उनले स्थानीय तहलाई निर्वाचन गठबन्धन र तालमेलबारे ‘स्थानीय अवस्था र आवश्यकता’लाई हेरी निर्णय गर्न प्रत्यायोजित गरेको अधिकार र स्थानीय एकाईको निर्णयविरुद्ध केन्द्रीय हस्तक्षेप भएको आरोप लगाएका छन् ।

त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाको पाँच पार्टी गठबन्धनबीच भएको तालमेल र भागबन्डाको मापदण्ड कांग्रेसको कार्यसम्पादन समितिमा प्रस्तुत नभएकोसमेत उनको आरोप छ ।

महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टिकट वितरणमा पार्टीको वैधानिक प्रक्रिया अवलम्बन नगरिएको, पदाधिकारी वा पूर्वपदाधिकारी लगायत पार्टी विधानमा कुनै स्थान नरहेका, संसदीय समिति गठन नै नभएको र कार्यसम्पादन समिति वा केन्द्रीय कार्यसमितिमा छलफल नभइ अन्तिम दिन प्रस्तुत प्रस्तावको प्रक्रियामा लगिएको उनको आरोप छ ।

कांग्रेसको विधानको धारा ३० र ३१ मा जिल्ला संसदीय समिति, प्रतिनिधिसभा निर्वाचनक्षेत्रको संसदीय समितिमा सम्बन्धित जिल्ला र क्षेत्रका केन्द्रीय कार्यसमितिका सदस्य पदेन रहने व्यवस्था छ ।

त्यस्तै, सम्बन्धित जिल्लाभित्रका केन्द्रीय कार्यसमितिका सदस्यहरू, प्रदेश संसदीय समितिका बैठकमा सम्बन्धित जिल्लाका विषयमा निर्णय गर्दा सो जिल्लाको केन्द्रीय सदस्यलाई आमन्त्रण गर्नुपर्ने वैधानिक व्यवस्था छ, तर धेरै ठाउँमा यो प्रक्रिया अवलम्बन नगरिएको उनको भन्दै उनले फरक मत राखेका छन् ।

निर्वाचनमा उम्मेदवारी दिने दिन नै प्रस्ताव प्रस्तुत हुने परम्परा औपचारिकता मात्र भएकोले उक्त विषय र प्रक्रियामा आफ्नो फरक मत रहेको उनले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति