काठमाडौँ, १० वैशाख । नेपाल भ्रमणमा रहेको अमेरिकी सांसदहरूको टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भेट गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान देउवाले ५ सदस्यीय टोलीलाई भेट गरेका हुन् । भेटको क्रममा नेपाल-अमेरिका मित्रता र सरकार, संसद् र जनता आवद्ध बहुआयामिक साझेदारीका उपायबारे विचार आदान प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटपछि शनिबार नै प्रधानमन्त्रीले यसबारे जानकारी दिएका थिए । भेटको क्रममा नेपाल जलवायु परिवर्तन लगायत विश्वव्यापी मुद्दामाथि पनि छलफल भएको बताइएको छ । युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न र द्विपक्षीय सम्बन्धलाई मुख्य एजेन्डा बनाएर अमेरिकी सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा रहेको उक्त टोली शुक्रबार साँझ नेपाल आइपुगेको हो। टोलीका अन्य सदस्यमा सेनेटरहरु (माथिल्लो सदनका) शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली छन् । यस्तै, प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स पनि टोलीमा रहेका छन् । उनीहरु सबै डेमोक्र्याटिक पार्टीमा आबद्ध छन् ।

प्रतिक्रिया