खसोखासकर्मी स्वर्गीय आषिस खनालको स्मृतिमा आषिस फाउण्डेशन

काठमाडौ, ६ बैशाख । २६ बर्षको अल्पायुमा निधन भएका खसोखासकर्मी आषिस खनालको स्मृतिमा आषिस फाउण्डेशनको शुभारम्भ गरिएको छ । शनिबार काठमाडौंको अकामा होटलमा आयोजित कार्यक्रममा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले पानसमा बत्ति बालेर फाउण्डेशनको शुभारम्भ गरेका हुन् ।

पेशागत रुपमा इन्जिनियर रहेका स्वर्गीय खनालले देशका विभिन्न भागमा कैयन परियोजनाहरुमा काम गरेकाे थियो । खसोखासको समाचार शाखाको अतिरिक्त नेपालको फाइनान्स चिफका रुपमा समेत काम गरेका खनालले खसोखासको नेपालको प्रकाशक कम्पनी नमस्ते इन्टरनेशनल मिडिया गु्रप प्राइभेट लिमिटेडको स्थापनामा प्रमुख खम्बाको रुपमा काम गरेकाे थियो । स्वर्गीय खनाल खसोखासका प्रधानसम्पादक किशोर पन्थीका भान्जा समेत हुन् । खनालकै स्मृतिमा स्थापित फाउण्डेशनले शिक्षा, स्वास्थ्य, वातावरण, खेलकूद, कृषि र संचारका क्षेत्रमा काम गर्ने उद्देश्य लिएको छ । संचारका क्षेत्रमा क्षमता अभिवृद्धि र संचारको विकाशका लागि काम गर्ने, कृषिका क्षेत्रमा कृषकका हितमा काम गर्ने, वातावरणका क्षेत्रमा वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने, खेलकूदका क्षेत्रमा सहयोगी भूमिका पूरा गर्न काम गर्ने, स्वास्थ्यका क्षेत्रमा स्वास्थ्य क्षमता अभिवृद्धिका लागि काम गर्ने र शिक्षाका क्षेत्रमा विभिन्न शिक्षा मुलक कार्यक्रमहरु संचालन गर्ने फाउण्डेशनको उद्देश्य रहेको छ । फाउण्डेशनको उद्देश्यबारे कानून व्यवसायी शीतल पाण्डेले स्पष्ट पारेकाे थियो । मन्त्री पम्फा भुसालले आफूले आमाको स्मृतिमा अक्षय कोष स्थापना गरेको स्मरण गर्दै आषिस फाउण्डेशनले अझ बृहत उद्देश्यहरु लिएकोमा ती क्षेत्रमा कामको सफलताको लागि शुभकामना दिए । शोकलाई शक्तिमा सामाजिक कार्यमा लाग्ने अभिप्रेरणाका साथ अगाडि बढ्न उनले शुभकामना दिए ।

कार्यक्रमका वक्ताहरु पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, कलाकारहरु सरोज खनाल, यम बराल, अमेरिका निवासी सामाजिक व्यक्तित्वहरु आनन्द बिष्ट, श्री पराजुली र लोक तिवारीले फाउण्डेशन सफलताको कामना गर्दै आफूहरु फाउण्डेशनको हिस्सा बन्न चाहेको बताउनुभयो । वक्ताहरु एबीसी टेलिभिजनका प्रमुख शुभशंकर कँडेल र कर्पोरेट नेपालकी प्रधानसम्पादक यशोदा तिम्सिनाले फाउण्डेशन सफलताको कामना गर्दै स्वर्गीय आशिष खनालप्रति श्रद्धाञ्जली व्यक्त गरे । खनालकै स्वार्गारोहण भएको क्षणमा आफ्नी आमालाई गुमाएका पत्रकार कँडेलले खनालले अल्पायुमा जीवन गुमाएको खबरले अझ बढी स्तब्ध भएकाे बताए । स्वर्गीय खनालका मामा खसोखासका प्रधान सम्पादक किशोर पन्थीले आफ्ना भान्जा स्वर्गीय खनालको स्मृतिमा स्थापित फाउण्डेशनको यात्रामा साथ दिन आव्हान गरे । फाउण्डेशनकी अध्यक्ष तथा स्वर्गीय खनालकी आमा कल्पाना खनालले छोराको स्मृतिमा ४५ औं दिनको पुण्यतीथि पारेर फाउण्डेशनको शुभारम्भ गरेको उल्लेख गर्दै फाउण्डेशनले सामाजिक क्षेत्रमा हरतरह गैर नाफामुलक रुपमा काम गर्ने बताए । छोरा आषिसले भौतिक संसार छाडेको आफूलाई अझै पनि विश्वास नलागेको र फाउण्डेशन मार्फत गर्ने सामाजिक कार्यमा छोरा आषिसले भगवान बनेर साथ दिने आशा व्यक्त गरे । विशिष्ट अतिथि नमस्ते इन्टरनेशनल मिडिया ग्रुपकी अध्यक्ष आमा तुल्सीदेवी पन्थी रहनुभएको फाउण्डेशन शुभारम्भ कार्यक्रममा खसोखासकर्मी अस्मिता खड्काले स्वागत मन्तव्य दिएकाे थियो । कार्यक्रमको संचालन चर्चित मिडियाकर्मी दिनेश डिसीले गरेकाे थियो ।

फाउण्डेशनको तदर्थ समितिमा अध्यक्ष कल्पना खनाल, उपाध्यक्ष किशोर पन्थी, सचिव थानेश्वर खनाल, कोषाध्यक्ष तुल्सीदेवी पन्थी, सदस्यहरु सुशिला भुसाल थापा, राजकुमार थापा, अन्जना खनाल, टामलाल पन्थी र पार्वती पन्थी रहेकाे छ । प्रमुख अतिथि पम्फा भुसालले तदर्थ समितिलाई खादा ओढाएर शुभकामना दिएकाे थियो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले फाउण्डेशनलाई १ लाख ११ हजार १ सय १ रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएकाे थियो । त्यस्तै निर्धन उत्थान बैंकका सीईओ जनार्दन देव पन्त, एकनारायण अर्याल बिष्णु, कल्पना पोखरेल अर्याल, डाक्टर भेषराज पोखरेल, सिता पोखरेल, यमलाल खनाल, गीता खनाल, लिलाधर खनाल, भिना खनाल, मेघराज खनाल, चन्द्रकला खनाल लगायतले फाउण्डेशनाई विभिन्न रकम सहयोगको कबोल गरेकाे थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति