बिजुली गाडी बढ्दै, ८ महिनामै १३ सय ५७

काठमाण्डौ, ५ बैशाख । केही हप्ता अगाडि नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा बिजुली गाडी खरिद गर्‍यो । नेपालमा बिजुली गाडीको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता गाडी भित्र्याएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ती गाडी काठमाण्डौ उपत्यकामा प्रयोग गर्ने प्रयोजनका लागि आयात गरिएको हो । बिजुली गाडी प्रयोग गर्दा बर्सेनि एक करोड रुपैयाँ बराबरको बचत हुने प्रारम्भिक अनुमान गरिएको छ । सरकारी निकायले पनि क्रमशः बिजुली गाडी प्रयोग गरून् भन्ने लक्ष्यका साथ प्राधिकरणले ती गाडीतर्फको यात्रा अगाडि बढाएको हो । प्राधिकरणले खरिद गरेको टाटा नेक्शन इभी एक पटक चार्ज गर्दा तीन सय १२ किलोमिटर बराबरको यात्रा गर्न सकिन्छ । काठमाण्डौ उपत्यकामा दुई सय १६ किलोमिटर बराबरको यात्रा गर्न सकिन्छ । त्यो गाडीमा ३० दशमलव २ किलोवाट क्षमताको ुलिथियम आयन ब्याट्रीु प्रयोग भएको छ । भारतीय कम्पनी टाटाले उत्पादन गरेको त्यो गाडी नेपालको बाटो सुहाउँदो रहेको बताइन्छ । बिजुलीको आन्तरिक खपत बढाउनका लागि लागिपरेको प्राधिकरण आफैँले नमुनाका रूपमा बिजुली गाडी चलाउन लागेको हो । आउँदो मनसुनमा ठूलो मात्रामा बिजुली खेर जाने जोखिम उत्तिकै छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म झन्डै दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसलाई केही हदसम्म भए पनि घटाउने लक्ष्यका साथ सरकारले बिजुली गाडी प्रवर्द्धनमा विशेष चासोका साथ काम गरिरहेको छ । सडक विभागले पनि केही समयअघि बिजुली गाडी आयात गरेर प्रयोगमा ल्याएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पनि बिजुली गाडीको प्रयोग भइरहेको छ । बजारमा आधा घण्टामा नै चार्ज गर्न सकिने बिजुली गाडीहरू उपलब्ध छन् । पछिल्ला दिनमा विद्युतीय मोटरसाइकल, स्कुटर उपलब्ध हुन थालेका छन् । अनौपचारिक अध्ययनअनुसार एक सय वटा गाडी गुड्दा सहरी क्षेत्रमा ६ वटा बिजुलीका गाडीको उपस्थिति देखिएको छ ।
वातावरण जोगाउन र मोटो रकम तिरेर आयात गरिने पेट्रोलियम पदार्थको विकल्पमा बिजुली गाडीको प्रयोग र प्रवर्द्धनमा जोड दिन लागिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल बिजुली गाडीको प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्र दुवैले मिलेर काम गर्नुपर्ने बताए । रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटा विश्व बजारमा पर्दा इन्धनको मूल्य अकाशिएको छ । त्यसबाट नेपाल पनि नराम्ररी प्रभावित भएको छ । इन्धनको मूल्य ओरालो लाग्ने सम्भावना कमै देखिन्छ । यस्तो अवस्थामा बिजुली गाडीको प्रयोग गर्नुको विकल्प नै सबैभन्दा उत्तम हुन्छ । भन्सार विभागको पछिल्लो विवरणका आधारमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक हजार तीन सय ५७ वटा बिजुली कार, जीप र भ्यान भित्रिएको छ । विभागका अनुसार चीनबाट मात्रै सात सय ५७ वटा बिजुली गाडी भित्रिएको छ । त्यसमा १०० किलोवाट क्षमताका ब्याट्री भएका गाडीको सङ्ख्या एक सय एक वटा छ । त्यस्तै १५० किलोवाटदेखि २०० किलोवाट बराबरको ब्याट्री क्षमता भएका ६ सय ५६ वटा बिजुली गाडी पनि नेपाल भित्रिएको छ । भारतबाट चार सय २४ वटा, दक्षिण कोरियाबाट विभिन्न क्षमताका एक सय ३२ वटा, अमेरिकाबाट १५ वटा, जापानबाट २८ वटा बिजुली गाडी आयात भएको छ । हाइब्रिडतर्फ ९पेट्रोल र बिजुली दुवै० १४ वटा गाडी आयात भएको छ । त्यसमा जर्मनीबाट दुई, दक्षिण कोरियाबाट चार, अमेरिकाबाट आठ वटा त्यस्ता गाडी आयात भएको छ । त्यस्तै नेपालमा नै ल्याएर एसेम्बल गर्ने प्रयोजनका साथ चीनबाट पाँच सय ८४ र भारतबाट एक सय ८० वटा बिजुली गाडी आयात भएको विभागको विवरणमा उल्लेख छ । कार, जीप र भ्यानको आयात मूल्य हेर्दा तीन अर्ब ९७ करोड १० लाख ९४ हजार रुपैयाँ बराबर देखिन्छ । ती गाडी आयात गर्दा सरकारले एक अर्ब आठ करोड १६ लाख ३३ हजार रुपैयाँ बराबरको भन्सार राजस्व सङ्कलन गरेको छ ।

यस्तै साझा यातायातले ४० वटा बिजुली गाडी आयात गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । तीमध्ये तीन वटा बिजुली बस नेपाल आइपुगेको छ । निजी क्षेत्रको सुन्दर यातायातले काठमाण्डौको चक्रपथमा बिजुली बसमार्फत सेवा दिइरहेको छ । यसबाट देशमा क्रमशः बिजुली गाडीको हस्तक्षेप बढ्दै गएको देखिन्छ । त्यस्तै सरकारले पेट्रोलियम पदार्थको प्रयोग हुने गाडीलाई बिजुली गाडीमा परिणत गर्न पाउने कानुनी प्रबन्ध गरेको छ । राजपत्रमा सूचना नै प्रकाशित गरेर त्यस्तो व्यवस्था गरिएको हो । विश्वव्यापी रूपमा हेर्दा चीनमा सन् २०२१ मा मात्रै ११ लाख ४९ हजार वटा नयाँ बिजुली गाडी दर्ता भए । अमेरिकामा दुई लाख ९७ हजार, युरोपमा १० लाख ६० हजार वटा बिजुली गाडी त्यस वर्ष दर्ता भएको देखिन्छ । नेपालमा पनि बिजुली गाडीको चासो बढ्दै गए पनि सहजै चार्जिङ स्टेशन उपलब्ध हुन सकेको छैन । प्राधिकरणले पहिलो चरणमा देशभर निर्माण गर्न लागेको ५० चार्जिङ स्टेशनको काम अगाडि बढिरहेको छ । निजी क्षेत्रबाट हुन्डाई कम्पनीले देशभर ४० वटा चार्जिङ स्टेशन निर्माण गरेको छ । निजी क्षेत्रका गाडी बिक्रेता कम्पनीले आफ्नै सापेक्षतामा विद्युतीय चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । वीपी राजमार्गमा चल्ने दिगो सवारीले आफैँ चार्जिङ स्टेशन निर्माण गरेको छ । निजी क्षेत्रले समेत चासो देखाएको अवस्थामा सरकारले नीतिगत रूपमा थप प्रस्ट पार्नुपर्ने आवश्यकता बढेर गएको छ । सरकारले भन्सार दर न्यून गरेको छ । तर सहजै चार्जिङ स्टेशन निर्माण गर्ने विषयलाई प्राथमिकतामा साथ अगाडि बढाउनुपर्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विद्युतीय स्कुटर निर्माण गरेर परीक्षण गरिसकेको छ । नास्टका प्रमुख वैज्ञानिक रवीन्द्र ढकालका अनुसार सरकारले केही नीतिगत विषयमा प्रस्ट पारेको खण्डमा पेट्रोलिय पदार्थको प्रयोग हुने गाडीलाई विस्थापन गर्न सकिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति