गठबन्धनमा वास्तविकताभन्दा पनि कार्यकर्ताको कुरा सुने अप्ठ्यारो हुन्छ : नेपाल


काठमाडौँ, ३ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको बाँटफाँट गर्नुपर्ने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित पार्टीको कार्यक्रममा पूर्वप्रधानमन्त्री रहेका नेपालले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले कुन तहमा किन दाबी गर्न लागेको हो भन्ने कुरा स्पष्टसँग राख्नुपर्ने बताए ।

जुन पार्टीको जति शक्ति हो त्यसको आधारमा दाबी गर्नुपर्ने नेपालको भनाइ थियो । उनले पार्टी कार्यकर्ता स्वभावैले चुनावमा उम्मेदवार बन्न पाउनुपर्ने दाबी गर्ने तर हारेपछि पार्टीमा नै सक्रियसम्म नहुने कुरा नेताहरूले बुझ्नुपर्ने बताए । सिटको तालमेल गर्ने कुरा गरिरहेका छौं । वास्तवविकताभन्दा पनि तलतलका कार्यकर्ताको कुरा सुनेर चल्ने स्थिति बन्यो भने अप्ठ्यारो हुन्छ, उनले भने, चुनाव यस्तो बेला हो जहाँ सबै मान्छेलाई चुनावमा उठ्ने रहर हुन्छ । जमानत जफत हुने भएपछि पनि म त दुई तिहाईले जित्छु भन्छ ।

कार्यकर्ताले टिकट पाउनका लागि जबर्जस्ती गर्ने तर चुनावमा जित्नका लागि गठबन्धनले उम्मेदवार उठाउनुपर्ने उनको भनाइ थियो । हारिसकेपछि अरबमा पुगिसकेको हुन्छ । चुनाव पहिला रोएर, कराएर टिकट चाहियो भन्छ तर चुनावमा जमानत जफत हुन्छ,उनले थपे, तलको यथार्थ कुराको जानकारी राख्नुपर्छ । हामीसँग पनि एक/एक कुराको जानकारी हुनुपर्छ । किन त्यो वडामा, किन त्यो पालिका र किन त्यो जिल्लामा हामी बलियो छौं भन्ने एकरएक कुराको हिसाब हुनुपर्छ ।

सत्तारुढ गठबन्धनका दलहरूबीच एमालेले २०७४ सालमा जितेका स्थानीय तहमा पहिलो दाबी गर्ने अधिकार एकीकृत समाजवादीको भएको नेपालको भनाइ थियो । उनले एमालेका कार्यकर्ताहरूलाई जाने ठाउँ एकीकृत समाजवादी रहेको उनको दाबी थियो । एमाले विजयी भएका स्थानीय तहमा पहिलो हक एकीकृत समाजवादीको लाग्छ । अरु पार्टीले चाहेर पनि एमालेका मान्छेलाई तान्न सक्दैनन्, उनले एमालेभित्र अन्यायमा परेका कार्यकर्ताहरूले चुनावपछि निर्णय लिन्छौं भनेर सन्देश पठाइरहेको पनि दाबी गरे ।

नेपालले गठबन्धनमा कुनै पार्टीसँग सहमति हुन नसकेमा जोसँग सहमति हुन्छ त्यो पार्टीसँग चुनावी तालमेल गर्ने र कसैसँग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी कार्यकर्ताहरूलाई अगाडि बढ्न निर्देशन दिए । कुनै पार्टीसँग सहमति हुन सकेन भने जोसँग सहमति हुन्छ त्यो दलसँग चुनावमा जानेछौं । एक्लै जित्छौं लागेको छ कसैलाई भने एक्लै पनि उभिन सक्छ । तर जित सुनिश्चित हुनुपर्छ, उनले भने ।

त्यस्तै, एमालेका अध्यक्ष केपी शर्मा ओलीले यथार्थभन्दा बाहिर गएर बोलिरहेको नेपालको भनाइ थियो । अहिले केपी ओलीको अहंकार अलि कति बढेको छ । अहंकार बढे पनि भित्रभित्र खोक्रो हुँदै गइरहेको छ । एक/दुई कार्यक्रममा जति खर्च गरेका थिए त्यति मान्छे आएनन् । जे बोलिरहेका छन् त्यो यथार्थ होइन, उनको भनाइ थियो, हाम्रो अवस्था राम्रो छ, संगठन बलियो छ, बलियो हुँदै गइरहेको छ ।

पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले आफ्नो शक्तिका आधारमा दाबी गरेको पनि नेपालको भनाइ थियो । एकीकृत समाजवादीको केही अर्थ छैन भनेको प्रति उनले असन्तुष्टि व्यक्त गरेका थिए । ुपोखरा महानगरपालिकामा मात्रै हामीसँग झन्डै झन्डै पार्टी सदस्य ८ हजार छन् । ८ हजार पार्टी सदस्य हुनु भनेको सजिलो कुरा हो रु भोटर होइन कार्यकर्ता र क्रियाशील सदस्यहरू ८ हजार छन् । जनवर्गीय संगठनको संख्या जोड्ने हो भने १२ हजार पुग्छ, उनले भने । एउटा पालिकामा १ सय ३४ मत पाएको दलले अहिले पालिका प्रमुखको दाबी गरिरहेको भन्दै उनले एकीकृत समाजवादी त्योभन्दा धेरै ठूलो शक्ति रहेको पनि बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति