काठमाडौं, ३ बैशाख । जनता समाजवादी पार्टी (जसपा) ले कैलालीका स्थानीय तहमा सत्ता गठबन्धनसँग चुनावी तालमेल नगर्ने भएको छ । जसपाले पाँच दलीय गठबन्धन तोडेर लोकतान्त्रिक समाजवादी पार्टी कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीसँग तालमेल गर्ने निर्णय गरेको हो । शनिबार कैलालीको धनगढीमा चार दलले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने बताएका हुन् । पाँच दलीय गठबन्धनले अन्य दलसँग चुनावी तालमेल गर्न नपाइने नीति बनाएपनि जसपाले कैलालीमा तोडेको हो ।

जनकपुरधाममा पनि कांग्रेसले तालमेल नगर्ने
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रमा तालमेल गर्ने निर्णय भए पनि जनकपुरमा नेपाली कांग्रेसले नगर्ने निर्णय गरेको छ ।
कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने जनाएको छ । एक्लै चुनाव लड्ने तयारी गरिरहेको उपमहानगरपालिका समितिले जनाएको छ ।२०७४ सालको निर्वाचनमा यहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत प्राप्त गरेका थिए । मेयरमा निर्वाचित साह अहिले जसपामा छन् । र, उनलाई नै पुनः मेयरको उम्मेदबार बनाउन जसपाले लबिङ् गरिरहेको छ । तर, कांग्रेसले लालकिशोर आवद्ध दलमात्र नभई अन्य कुनै दलसँग गठबन्धन नगरी आफैं चुनाव लड्ने बताएको छ ।
प्रतिक्रिया