जिल्लाबाट भत्किन थाल्यो पाँच दलीय सत्ता गठबन्धन

काठमाडौं, ३ बैशाख । खुमलटारमा शुक्रबार मात्रै बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा समस्या देखिएको बताए।उनले खास गरी एकीकृत समाजवादी र जनता समाजवादीले आफ्नो हैसियतभन्दा धेरै भाग खोज्न थालेपछि समस्या आएकाले अब कांग्रेससँग पनि प्रतिस्पर्धा हुन सक्ने उल्लेख गरेका थिए। खास गरी कांग्रेस र माओवादीकै बलमा यहाँसम्म ल्याएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू एमालेमै रहेको जस्तो गरेर भाग खोज्दा गठबन्धनमा गाह्रो भएको दाहालको टिप्पणी थियो।स्रोतका अनुसार उनले उक्त बैठकमा गठबन्धनको धेरै भर पर्न नहुने निष्कर्ष पनि सुनाउँदै आफ्नै बलमा चुनावी तयारी थाल्नेतर्फ पनि नेताहरुको ध्यानाकर्षण गराए।

शुक्रबारै कांग्रेसको निर्वाचन परिचालन समितिको बैठकले पनि गठबन्धनका दलहरुविरुद्ध कुनै नकारात्मक टिप्पणी नगर्न भन्यो। कांग्रेसको उक्त बैठकले दुई कदम अघि बढ्दै गठबन्धन दलका नेता सहभागी हुने चुनावी सभामा पार्टी प्रवेश कार्यक्रम समेत नराख्ने निर्णय गर्यो।

तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले धमाधम उम्मेदवार तय गरिरहँदा चैत २९ मै सात बुँदे सहमति जारी गरिसकेको गठबन्धनको विवाद अहिले जिल्ला जिल्लामा चर्किन थालेको छ।

केन्द्रको निर्देशनविपरीत जिल्ला तहबाट पाँच दलीय गठबन्धन धमाधम टुट्न थालेको छ।

बिहीबार बाँकेदेखि सुरु भएको गठबन्धन भत्किने क्रममा शुक्रबारसम्म विभिन्न जिल्लामा पुगिसकेको छ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा मिलेर बनेको गठबन्धनले आगामी वैशाख ३० गते एकआपसमा तालमेल गरेर चुनावमा जान गरेको निर्णय कार्यान्वयन हुनै नपाई भत्किन थालेको हो।

अहिले गठबन्धनभित्र सबैभन्दा रुष्ट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी बनेको छ।

उसले माओवादी र कांग्रेसले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई प्राथमकिता दिएर आफ्नो भाग पनि खोस्ने काम गरेको भन्दै देशभर एक्लै चुनाव लड्ने तयारी गरेको हो।

बाँके
जनता समाजवादीले बिहीबार बाँकेमा कांग्रेससँगको गठबन्धनबाट बाहिरिने निर्णय गर्दै नेपालगञ्ज उपमहानगरपालिकासहित चारवटा तहमा आफ्ना उम्मेदवार तय गरिसकेको छ। हाम्रो जनमतलाई हेप्ने काम कांग्रेसबाट भएको छ। हाम्रो बलियो जनमत भएको तराईमा कांग्रेसले हामीलाई छाड्नै मानेन जसपा नेता मोहम्मद इस्तियाक राइनले भने, त्यही कांग्रेसले फेरि हामीलाई पहाडतिर उक्लिन पनि दिँदैन। समाजवादीले बाँकेमा गठबन्धन तोडेर एक्लै उम्मेदवार घोषणा गरेपछि अब देशभर त्यहीअनुसार अघि बढ्ने चेतावनी कांग्रेसलाई दिएको छ।

बाँकेमा जसपाले छाड्यो गठबन्धन, देशभर पाँच दलको तालमेलमा गडबडी

उसले कांग्रेससँग वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका र नेपालगञ्ज उपमहानगरपालिका मागेको थियो। त्यस्तै थप एउटा उपमहानगर पनि दिनुपर्ने उसको अडान थियो।

तर आफूले मागेजति दिन तयार नभएको कांग्रेसले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई भने भनेजति तह दिन लागेको भन्दै रुष्ट भएको हो।
यद्यपि जसपा अध्यक्ष उपेन्द्र यादवले सबै तहको भागबण्डा नमिलिसकेकाले अहिले नै गठबन्धन छाडिहालेको भन्न नमिल्ने बताएका छन्।

संखुवासभामा संकट
प्रधानमन्त्री देउवाका एक विश्वासपात्र दीपक खड्काले शुक्रबार संखुवासभामा माओवादीसँगको गठबन्धन टुटेको घोषणा गरे। माओवादी केन्द्र मिलेर जान अनिच्छुक देखिएपछि कांग्रेसले संखुवासभामा तालमेल नगर्ने निर्णय गरेको उनले बताए। खड्काले माओवादी केन्द्रको विश्वास गर्न नसकिने पनि टिप्पणी गरे।
‘४÷५ दिन बसिसक्यौँ। एक दिन एक प्रकारको सहमति र छलफल गर्ने। अर्को दिन फेरि थपेर ल्याउन गर्न थाल्यो,’ जिल्ला सभापति खड्काले भने, ‘माओवादी केन्द्रको विश्वसनीयता र चरित्रका कारण तालमेल नहुने भयो।’ सभापति खड्काले चुनावी तालमेलका लागि सत्ता गठबन्धनका माओवादी केन्द्रबाहेकका अन्य दलहरूसँग छलफल जारी रहेको बताए। संखुवासभामा १० स्थानीय तह छन्। तीमध्ये कांग्रेसले दुई नगरसहित तीन गाउँपालिका र एमालेले एक नगरसहित दुई गाउँपालिका जितेको थियो।

ताप्लेजुङ जसपा–एमाले
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको गृहजिल्ला ताप्लेजुङमा जसपाले पाँच दलीय गठबन्धन छाडेर चुनावमा जाने तयारी थालेको छ।
केन्द्रले पाँच दलबाहिर तालमेल नगर्ने नीति बनाएको अवस्थामा ताप्लेजुङको दृश्य पनि फरक देखिएको छ। जसपाले ताप्लेजुङमा नेकपा एमालेसँग चुनावी तालमेलको विषयमा छलफल थालेको छ। जसपाका केन्द्रीय सदस्य सविन बानियाँले गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पेल्न खोजेपछि स्थानीय तहको सापेक्षताका आधारमा एमालेसँग छलफल भइरहेको बताए।

डोल्पामा एक्लै लड्ने निर्णय

गठबन्धन टुट्ने पछिल्लो जिल्ला भएको छ डोल्पा। स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय नै त्यहाँका तीन दलले शुक्रबार गरेका छन्।
स्थानीयतहमा भागबण्डा बसेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित सत्ता गठबन्धनको बैठकमा सहमति हुन नसक्दा गठबन्धन टुट्ने भएको हो। पाँच दलको केन्द्रीय निर्णय र र्सकुलरअनुसार जिल्लामा पनि गठबन्धनले नेकपा एमालेलाई स्थानीय निर्वाचनमा हराउन मिलेर जान छलफल थालेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति