कास्की, २ वैशाख । — पोखरा महानगरको मेयर र उपमेयर पदका उम्मेदवार छान्नका लागि एमालेले आकांक्षी सबै जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
शुक्रबार हुने भनिएको मतदान स्थगित गरी आकांक्षी सबैको नाम सिफारिस गरिएको मेयरका आकांक्षीसमेत रहेका प्रदेशसभा सदस्य राजीव पहारीले जानकारी दिए । उनका अनुसार मेयरका लागि १२ र उपमेयरका लागि ९ जना आकांक्षी देखिएका छन् । एमाले पार्टी कार्यालयमा निर्वाचन प्रक्रिया पूरा गरिएको भए पनि अन्तिममा मतदान नभएको उनले बताए । पोखरा महानगर कमिटीमा १ सय १० सदस्य छन् । मेयरका लागि केन्द्रीय सदस्यहरु मीनाकुमारी गुरुङ, भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र प्रदेश उपसचिव रश्मि आचार्य, विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी छन् । यस्तै, उपमेयरका लागि विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र वामदेव ढुंगाना रहेका छन् ।
प्रतिक्रिया