काठमाडौं, ३० चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले बीरगंजमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुका कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याएको बताएका छन् । नेताहरुले कमिशन र भ्रष्ट्राचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका उनले जिकिर गरे । नेताहरु र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको उनले बताए ।
अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिनु पर्ने बताए । ‘देशलाई अर्थतन्त्रको हिसाबले कहाँ पु¥याए, बैंकमा पैसा छैन आज । यो खतरनाक कुरा हो । सामान्य कुरा होइन ।’ उनले भने, ‘नोट त छापिएको थियो । त्यो त भारतमा गएर कहीँ बसेको छैन ।
कतै गएर अड्किएको छैन । त्यो नोट कहाँ गयो ?’भ्रष्ट्राचारको नाममा विभिन्न हिसाबले गरेर कमाएको पैसा बैंकमा लगेर राख्दा त आम्दानीको स्रोत देखाउनुपर्ने भएकाले नोट गायब भएको उनको भनाइ थियो । ‘एकचोटी राप्रपालाई सहयोग गर्नुस् त, राजेन्द्र लिङ्देन जस्तो मान्छेहरुलाई र त्यो पार्टीलाई सहयोग गर्नुस् । यिनीहरुको नोट घर–घरमै कागजको खोस्टो बनाइदिन्छौ ।’ उनले आग्रह् गरे । देश बनेको हेर्नका लागि मतदाताहरुले पार्टी र नेता फेर्ने बेला आएको बताए । उनले देशका ठुला राजनीतिक पार्टीहरुले देशलाई बर्बादीको बिन्दुमा पु¥याएको आरोप लगाए ।
प्रतिक्रिया