काठमाडौं, २९ चैत । सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको मेयर तथा उपमेयरको सिट बाँडफाँटको टुंगो केन्द्रिय संयन्त्रले गर्ने निर्णय गरेको छ।मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मुलुकका ६ महानगर र ११ उपमहानगरमा मेयर-उपमेयर गठबन्धनको केन्द्रिय संयन्त्रले टुंग्याउने निर्णय गरेको हो।
त्यसैगरी बैठकले नगरपालिकाको मेयर तथा उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सिट बाँडफाँट गरेर वैशाख ५ गते भित्र केन्द्रमा पठाउन प्रदेश संयन्त्रलाई निर्देशन दिएको छ।
‘पाँच दलीय गठबन्धनबीच २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सिट बाँडफाँट गर्दा महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रिय संयन्त्रले गर्ने निर्णय भएको छ’, मन्त्री कार्कीले भने, ‘नगरपालिका र गाउँपालिकामा क्रमशः प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको तालमेल गरी सिट बाँडफाँटको वैशाख ३ गते भित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गते भित्र केन्द्रलाई पठाउने निर्णय भएको छ।’
वैशाख ३ गते जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी केन्द्रमा पठाउने निर्णय गरिएको कांग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
गठबन्धन बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको वडाअध्यक्ष र सदस्यको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गते भित्र टुंगो लगाउने निर्णय गरेको छ।
सञ्चारमन्त्री कार्कीले सिट बाँडफाँट गर्ने कामको संयोजन सम्बन्धित कमिटीको कांग्रेस सभापतिले गर्ने निर्णय पनि गरिएको बताए।
सञ्चार मन्त्री कार्कीले अगाडि भने, ‘महानगरपालिका, उपमहानरपालिका, नगरपालिका र गाउँपालिका वडा अध्यक्ष र सदस्यको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले बैशाख ३ गते भित्र टुंगो लगाउने। प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित २(२ जना प्रतिनिधि रहने निर्णय भएको छ’, उनले भने, ‘प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ आफ्नो आवश्यक्ता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्नेछ। सबै तहको बैठकको संयोजन नेपाली काँग्रेसका सम्बन्धित तहका सभापतिले गर्नेछ।’
सिट बाँडफाँटको आधार भने २०७४ सालको स्थानीय तह निर्वाचनको मतपरिणामलाई मुख्य मान्ने सहमति भएको छ।
गठबन्धन भित्र सिट बाँडफाँटका आधारहरू
२०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी एकीकृत समाजवादीका उम्मेदवारहरुलाई मान्ने।
२०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार हेर्ने ।
२०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागी गराउने ।
२०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धन भित्रका दलहरुले प्रमुख पदमा पाएको मतलाई आधार मान्ने।
एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रुपमा स्वीकार गर्ने ।
सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारका साथै वर्तमान समयमा दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई ध्यान दिने ।
गठबन्धनमा रहेका दलहरुबीचमा चुनावी तालमेल गर्न पाउने ।
प्रतिक्रिया