काठमाडौं, २८ चैत्र । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने उजुरी आएको भन्दै तीन दिन भित्र चित्तबुझ्दो जवाफ दिन नेकपा (एकीकृत समाजवादी)लाई निर्देशन दिएको छ। सोमबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगले गत चैत २६ गते काठमाडौंमा आयोजित पार्टीको आमसभामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने उजुरी आएको उल्लेख गर्दै आधार प्रमाणसहित ३ दिन भित्र चित्तबुझ्दो जवाफ दिन नेकपा (एकीकृत समाजवादी) लाई निर्देशन दिएको हो।आम सञ्चार माध्यम र विभिन्न सामाजिक सञ्जालहरुमा पनि सो जानकारी आएपछि चित्तबुझ्दो जवाफ दिन सो पार्टीलाई निर्देशन गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादीले मिति २०७८ चैत्र २६ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन भएको भन्ने आम सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो सम्बन्धमा के कसो भएको होरु तीन दिनभित्र आधार, प्रमाणसहित आयोगलाई चित्तबुझ्दो जवाफ माग गरिएको छ।’त्यसैगरी आयोगले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालासँग पनि जवाफ माग गरेको छ।कोइरालाले सो निर्वाचनमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए। तर उनले आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्रै उल्लेख रहेकाले के कसो भएको हो, त्यसको जवाफ ७ दिन भित्र दिन कोइरालाको ध्यानाकर्षण पनि गराइएको आयोगका प्रवक्ता पौडेलले बताए।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता सञ्चार माध्यमहरुले पालना गरेरनगरेको अनुगमन गर्ने जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई दिएको छ। गत चैत २७ गते विभिन्न सञ्चार माध्यमहरुमा निर्वाचन आचारसंहिता उल्लंघन भए, नभएको अनुगमन गर्ने जिम्मेवारी प्रेस काउन्सिललाई दिनेगरी सम्झौता गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता पौडेलले निर्वाचनसँग सम्बन्धित मिडिया अभिमुखीकरण कार्यक्रम सात वटै प्रदेशमा सञ्चालन गर्ने तयारी गरिएको पनि बताए। जस अनुसार चैत्र २९ गते प्रदेश नम्बर १ को विराटनगर, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा सो अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ। प्रदेश १ को सो कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशको सो कार्यक्रममा निर्वाचन आयुक्त सगुन शमशेर जबरा र सुर्खेतमा आयोजना हुने सो कार्यक्रममा निर्वाचन आयुक्त जानकी कुमारी तुलाधर प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्। सो अभिमुखीकरण कार्यक्रममा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघका पदाधिकारी पनि सहभागी हुने निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचनको गतिविधि र सूचनालाई सहज बनाउन आगामी वैशाख १ गतेदेखि हरेक दिन स्थानीय तह निर्वाचन बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरिएको जानकारी दिए। त्यसैगरी आयोगले चैत्र २९ गतेदेखि वैशाख ३ गतेसम्म निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखहरुका लागि अभिमुखीकरण कार्यक्रम सात वटै प्रदेशमा सञ्चालन गर्दैछ। आयोगका अनुसार निर्वाचन आचारसंहिताको अनुगमन गर्ने जिम्मेवारी भने हाललाई गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ।
प्रतिक्रिया