अमेरिकाले लगायो पुटिनकी दुई छोरीमाथि पनि प्रतिबन्ध


वासिङ्टन, २४ चैत । सन् २००२ मा श्रीमती र छोरीसँग पुटिन। फाइल तस्बिर।सन् २००२ मा श्रीमती र छोरीसँग पुटिन।

अमेरिकाले झन्डै डेढ महिनाअघि युक्रेनमाथि आक्रमण गरेको रूसविरूद्ध थप आर्थिक प्रतिबन्धहरू लगाएको छ।

युक्रेनको राजधानी किएभनजिकैको बुचामा दर्जनौं युक्रेनीका शव भेटिएको घटनापछि अमेरिकाले रूसमाथि बुधबार थप प्रतिबन्ध घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

यसपालिको प्रतिबन्धमा अमेरिकाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनकी दुई छोरीलाई पनि समेटेको छ।

पुटिनकी छोरीहरू क्याटरिना र मारियाले बाबुको सम्पत्ति लुकाएको भन्दै उनीहरूमाथि प्रतिबन्ध लगाइएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार पुटिनकी छोरी क्याटरिना रूसी सरकार र उसको प्रतिरक्षा प्रणालीलाई सघाउने प्रविधि कम्पनीकी कार्यकारी प्रमुख हुन् भने मारियाले रूसी सरकारको अनुदानमा जेनेटिक अनुसन्धान कार्यक्रम चलाइरहेकी छन्।

पुटिनकी यी दुबै छोरीको विवाह भइसकेको छ। पुटिनले सन् १९८३ मा ल्युडमिला एलेक्सान्ड्रोभ्ना ओकेरेत्नायासँग विवाह गरेका थिए।

उनीहरूबी सन् २०१४ मा पारपाचुके भएको थियो। पुटिनले कहिले पनि आफ्नी छोरीहरूका बारेमा सार्वजनिक जानकारी दिएका थिएनन्।

श्रीमतीसँग पारपाचुकेपछि उनले सन् २०१५ मा आफ्ना छोरीहरू रूसभित्रै रहेको बताएका थिए।

अमेरिकाले बुधबार घोषणा गरेको प्रतिबन्धमा रूसी विदेश मन्त्री सर्जेई लाभरोकी श्रीमती र छोरीलाई पनि समावेश गरिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति