काठमाण्डौ, २३ चैत । नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलित भएका छन् । आज बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।
सरकारले रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा नियुक्ति गर्ने तयारी गरिरहेका बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर प्रबन्ध निर्देशक बनाउन नहुने भन्दै खबरदारी गरेका हुन् । टेलिकममा संस्था बुझेको, संस्थामा भिजेको र लगानी गरेको मान्छे प्रबन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कश युनियन केन्द्रीय समितिका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले बताउनुभयो । टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै उहाँले बाह्य हस्तक्षेपबाट मुक्त गराउनका लागि खबरदारी गरिएको बताए । उनले भने– ‘विभिन्न किसिमका सेटिङका कुराहरू पनि आएका छन् । हामी के चाहन्छौँ भने नेपाल टेलिकमलाई बाह्य हस्तक्षेपबाट होइन, संस्था बुझेको मान्छेले मात्र यो संस्थालाई हाँक्न सक्छ । संस्थाको उन्नति, प्रगतिका लागि र संस्थालाई दिगो जीवन्तता दिनका लागि पनि यहाँको वरिष्ठ व्यक्तिहरू यहाँको प्रबन्ध निर्देशक हुनुपर्छ भनेर हामीले भन्दै आइरहेका छौँ ।’ नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्तिका लागि नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ ।
प्रतिक्रिया