कङ्गोमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेत गुर्भाकोटका अनिल गुरुङ रहेको पुष्टि

काठमाडौं, २३ चैत्र । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका सिपाहीको परिचय खुलेको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गर्दा गुरुङ घाइते भएका थिए । उनलाई हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएको उपचारको क्रममा त्यहीं मृत्यु भएको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गुरुङको निधनमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यो घटनाले नेपाली सेनालाई स्तब्ध बनाएको भन्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । गुरुङको बलिदानीपूर्ण योगदानको उनले उच्च सम्मान प्रकट पनि गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिवले पनि शोक विज्ञप्ति जारी गर्दै मृतक शान्ति सैनिकका परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन् । साथै शान्ति सैनिकहरुमाथि आक्रमण गर्नु युद्ध अपराध हुने भन्दै यस घटनाको छानबिन गरी दोषिलाई कानुनी कठघरामा ल्याउन कंगोका अधिकारीहरुलाई आग्रह पनि गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति