काठमाडौं, १९ चैत्र । नेपाल र भारतबीच सार्क उपक्षेत्रीय मोडलमा उर्जा क्षेत्रको सहकार्य विस्तार गर्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भएको वार्तामा बिबिआइएन (भुटान, बंगलादेश, भारत र नेपाल) ढाँचामा सहकार्य विस्तार गर्ने भएको हो ।
‘यस प्रकारको सहकार्य बिबिआइएनको ढाँचाभित्र विस्तार गर्ने र त्यसका सर्तहरु सहभागी पक्षहरुबीच आपसी सहमतिमा निर्धारण गरिनेछ,’ नेपाल-भारत उर्जा क्षेत्र सहकार्य संयुक्त दृष्टिकोणमा भनिएको छ ।
बिबिआइएन मोडलमा यसअघि मोटर भेइकल एग्रिमेन्ट भएको थियो । नेपाल, बंगलादेश र भारतले सो सम्झौतालाई अनुमोदन गरे पनि भुटानले वातावरणसहितको विषय उठाउँदै त्यसबाट पछि हटेको छ । जसलाई तीन देशले मात्रै अघि बढाउन खोजेका छन् ।
नेपाल, बंगलादेश र भारतबीच त्रिदेशीय विद्युत् प्रसारण लाइन निर्माणसहितको विषयमा वार्ताहरु भए पनि त्यसले अन्तिम रुप लिएको छैन । नेपाल र बंगलादेशबीच हुने बैठकहरुमा दुवै देशले भारतसँग छुट्टाछुट्टै वार्ता गर्ने सहमति गरेका छन् । तर यस विषयमा त्रिदेशीय वार्ता भने हुन सकेको छैन । पछिल्लो समयमा बिबिआइएन मोटर भेइकल सम्झौताका बैठकमा भुटान पर्यवेक्षकको रुपमा उपस्थित हुने गरेको छ ।
बंगलादेशले नेपाल र भुटानबाट बिजुली किन्न चाहे पनि भारत हुँदै प्रसारण लाइन निर्माण गर्नु पर्ने भएकाले संभव हुन सकेको छैन । भारतसँग नेपाल र भुटान दुवै देशको विद्युत् उत्पादनमा सहकार्य हुँदै आएको छ । भुटानमा सबै परियोजना भारतीय अनुदान र ऋणमा निर्माण भएका हुन् । नेपालमा भारतीय कम्पनीले अरुण तेस्रो परियोजना निर्माण गरिरहेको छ ।
दुवै देशका प्रधानमन्त्रीहरुबीच भएको सहमतिमा विद्युत् उत्पादन गर्न संयुक्त परियोजना नेपालमा निर्माण गर्ने, सीमा पार प्रसारण लाइन पूर्वाधार निर्माण गर्ने रहेको छ । पारस्परिक लाभ, बजारको माग र दुवै देशको घरेलु नियमहरु आधारमा दुवै देशको बजारमा उचित पहुँच हुनेगरी बिजुली व्यापार गर्ने, राष्ट्रिय प्रसारणलाई सहकार्यमा सञ्चालन गर्ने र नयाँ प्रविधि, कार्य सञ्चालन तथा जानकारी संस्थागतरुपमा साझा गर्ने रहेको छ ।
प्रतिक्रिया