काठमाडौँ, १७ चैत्र । करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएपछि लगातार तेस्रो खेल जित्दै नेपाल त्रिकोणात्मक टी-ट्वान्टी शृंखलाको फाइनल पुगेको छ । नेपालले बिहीबार पपुवा न्यु गिनी (पीएनजी) लाई ३७ रनले पराजित गर्यो ।
२ सय ४ रनको लक्ष्य लिएर आएको पीएनजी १९।४ ओभरमा १ सय ६६ रनमा अलआउट भयो । पीएनजीको यो लगातार तेस्रो हार हो । करण केसीले दुवै ओपनर लेगा सिएका र कप्तान असाद भालालाई समान १ रनमा आउट गरे । सिएकालाई आउट गर्दै करणले ट्वान्टी २० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे । अन्तिम ओभरमा करणले चाड सोपर ९२०, सिमोन अटोइ ९०० र नोसाइना पोकाना ९०० लाई आउट गरी ट्वान्टी २० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी बने । करणले ३।४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । नेपाली खेलाडीले पहिलो पटक ट्वान्टी २० अन्तर्राष्ट्रियमा ५ विकेट लिएका हुन् । २०१५ को ट्वान्टी २० विश्वकप छनोटमा वसन्त रेग्मीले हङकङविरुद्ध १६ रन खर्चेर ४ विकेट लिनु नेपाली खेलाडीको ट्वान्टी २० अन्तर्राष्ट्रियमा यसअघिको उत्कृष्ट बलिङ प्रदर्शन थियो । चाल्र्स अमिनीले सर्वाधिक ४७ बलमा सर्वाधिक ६२ रन बनाउनेक्रममा ९ चौका प्रहार गरे । टोनी उराले २२ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । नोर्मन भानुआ १७ र सेसे बाउले २५ रन बनाए । दुबैलाई अविनाश बोहराले लगातार बलमा आउट गरे । अविनाशसँगैं सोमपाल कामीले २र२ र कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।
यसअघि पीएनजीले त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय ३ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीले नेपालबाट ३३ बलमा सर्वाधिक ६६ रन बनाए । उनले १८ औं ओभरमा नोर्मन भानुआलाई लगातार तीन छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका थिए । दीपेन्द्रले कुल ३ चौका र ४ छक्का प्रहार गरे । नेपालले १८ औं ओभरमा २४ र १९ औं ओभरमा ३२ रन जोडेको थियो । डेब्यु गरिरहेका मोहम्मद आदिल अहमदले १९ औं ओभरमा नोसाइना पोकानालाई ३ छक्का र १ चौका तथा दीपेन्द्रले १ छक्का प्रहार गरेका थिए । पोकानाले सोहि ओभरको अन्तिम बलमा दीपेन्द्रलाई क्याच आउट गराए । आदिलले ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाए । काबुआ मोरेआले अन्तिम ओभरमा आदिल, दीलिप नाथ ९०० र करण केसी ९१० लाई आउट गरे । नेपालले अन्तिम ओभरमा ४ रनमात्र बनाउन सक्यो । आरिफ शेख २ रनमा अविजित रहे । कुशल भुर्तेल र आसिफ शेखले ७ ओभर भित्र ४२ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । कुशल २० बलमा १७ रन बनाई आउट भए । पछिल्ला दुई खेलमा नेपालबाट उच्च स्कोर बनाएका आसिफले २९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४१ रन बनाए । रोहित पौडेलले ४१ रन बनाए । उनले २३ बल खेली ४ चौका र २ छक्का प्रहार गरे ।
ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको यो ५० औं खेल थियो । राउन्ड रोबिन लिगमा नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र अघिल्लो दिन मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । पीएनजी दुबै खेलमा पराजित भइसकेको छ । मलेसियासँगको खेल पनि ८ रनले पराजित पीएनजीलाई नेपालसँगको हारले फाइनल दौडमा पुग्न अप्ठ्यारो बनाएको छ ।
प्रतिक्रिया