काबुल , १६ चैत्र । युरोपेली संघ (ईयू) ले छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ । ईयूले तालिवान सरकारसँग यसअघि छात्रालाई विद्यालय जान दिने निर्णयलाई तत्काल कार्यान्वयन गर्न पनि आग्रह गरेको छ ।
यही मार्च २३ देखि तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको भएतापनि कार्यान्वयन हुनुभन्दा केही घण्टाअघि निर्णय फिर्ता गरेको थियो । सरकारको निर्णयबाट खुसी भएका छात्रा, महिला तथा मानवअधिकारवादीहरू पुनः निराश भएका छन् । महिला अधिकार सुनिश्चिततामा अन्तर्राष्ट्रिय समुदायको चासो र अडानप्रति तालिवान सरकारका उच्च अधिकारीहरूले सहमति जनाउने गरेपनि त्यसको पालना भने गरेका छैनन् ।
यसबारे संयुक्त राष्ट्रसंघले पनि आपत्ति जनाउँदै आएको छ । राष्ट्रसंघीय अधिकारीहरूले तालिवान सरकारको पछिल्लो निर्णय दुर्भाग्यपूर्ण र छात्रालाई पढ्न रोक लगाउने निर्णयले तालिवानको प्रतिबद्धतामाथि प्रश्न उठेको जनाएका छन् ।
प्रतिक्रिया